लैङ्गिकमैत्री सहर निर्माणका लागि महानगर सचेत छ : उपप्रमुख डङ्गोल

२८, फागुन काठमाडौं । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले महिला, बालबालिका र ज्येष्ठ नागरिकसँग सम्बन्धित कार्यक्रमलाई महानगरले विशेष प्राथमिकतामा राख्ने गरेको बताएकी छिन् ।

महिला नेतृत्व विकासका विषयमा भेटघाटका लागि कार्यकक्षमा आएकी एसियन वुमेन लिडर्स फोरम (एडब्लुएलएफ) का संस्थापक अध्यक्ष एआइ सासाकीसँग कुरा गर्दै उनले समतामूलक समाज निर्माण गर्ने, महिलाहरूको नेतृत्व विकास गर्ने कार्यक्रमको थालनी तल्लो तहमा रहेका महिलाहरूलाई लक्षित वर्गमा राखेर काम गर्ने गरिएको जानकारी दिइन् ।

लैङ्गिक उत्तरदायी सहर निर्माण, लिङ्गका आधारमा हुने हिंसा न्यूनीकरण, उद्यमशीलताबाट महिलाहरूको आर्थिक सशक्तीकरण र नेतृत्व विकास, महिलाको हक स्थापित, समतामूलक समाज निर्माणका लागि महानगरपालिकाले स्थानीय कानुन तर्जुमा गरेको उनको भनाइ छ ।