
२९, फागुन भक्तपुर । ‘भिसीं द्यो या लग खङ लो वान ला, बिस्यु वाने मायक स्व वया ला’ अर्थात् ‘भिमसेनको लिङ्गले मन लोभियोकी, भाग्नु पर्ने गरी हेर्न आको हो कि’ भक्तपुर नगरपालिका तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भिमसेन मन्दिरको पाटीमा होली पर्वमा गुञ्जने यस्ता गीत अहिले लोपोन्मुख छन् ।
भिमसेन मन्दिरको पाटीमा बसेर फागुन शुक्ल अष्टमीको दिनदेखि पूर्णिमासम्म भिमसेन गुठीका गायजुले यस्ता गीत गाएर होलीको आगमनसँगै विदाइ गर्ने प्रचलन थियो । तर अहिले कतिपय स्थानीयलाई फागुसँग सम्बन्धित दाफा भजन छ भन्ने हेक्का नै छैन ।
फागुन शुक्ल अष्टमीका दिन मन्दिरमा राखिएको तीन हात लामो ३० इन्च मोटो काठबाट बनेको लिङ्गलाई ब्रम्हायणी खोलामा लगेर स्नान गराई काँधमा बोकेर ब्रम्हायणी, च्यामासिंह, जेँला, इनाचो, बाचुटोल हुँदै, तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेको घर र पसलमा घुमाउने प्रचलन छ । यसरी घुमाउँदा भक्तजनले स्पर्र्शगरी ढोग्ने, दान दक्षिणा दिने र साँझ मन्दिरको पाटीमा झुण्ड्याउने परम्परा रहे पनि लिङ्गलाई टोलटोलमा घुमाउने प्रचलन हराउँदै गएको छ ।
नेवारी परम्पराअनुसार यसलाई चिर स्वायगू अथार्त लिङ्ग घुमाएपछि यहाँ फागु सुरु हुने परम्परा छ । ‘झ्यालय् च्वंगु तुकं मा, वहे ल्यासे जितः माः, व ल्यासे मदयकं जा हे मनया’ अर्थात झ्यालभरि तोरीको माला छ, त्यही तरुनी मलाई चाहिन्छ, त्यो तरुनी नपाएसम्म भातै खान्नँ भन्ने अर्थ बोकेको गीत गाएर प्रेमको पर्वको रूपमा यो पर्वलाई लिने गरिन्छ ।
