मिथिला मध्यमा परिक्रमा आज सम्पन्न गरिँदै

१, चैत महोत्तरी । मधेसको प्राचीन मिथिलाको धार्मिक तथा सांस्कृतिक महत्त्वको मिथिला मध्यमा परिक्रमा आज सम्पन्न गरिँदैछ । फागुन औँसीका दिन सुरु भई १५ रात्रिविश्रामको यो यात्रा आज १६औँ दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गर्दै सम्पन्न गरिँदैछ । जनकपुरधामको रङ्गभूमि मैदानमा १५औँ दिनको रात्रिविश्राम गरेका यात्रीले बिहीबार मध्यरात कटेसँगै पञ्चकोशी पनि भनिने जनकपुरधामको अन्तरगृह परिक्रमा थालेका छन् ।

मिथिलामा १५औँ दिनको रात्रिबासपछि १६औँं दिन पञ्चकोशी परिक्रमा गरेपछि मात्र यात्रा सम्पन्न भएको मानिन्छ । अहिले पञ्चकोशी परिक्रमाका यात्री जनकपुरधामको अन्तरगृह परिक्रमा पथमा अटुट मानवपङ्क्ति देखिँदो छ । यो अन्तिम यात्राका क्रममा बिहीबार साँझ होलिका दहन गरिएको खरानी उडाउँदै अन्तरगृहपथको एक फन्को लगाएपछि पवित्र गङ्गासागरमा चोबलिएर यात्रीले यस वर्षको मध्यमा परिक्रमा सम्पन्न गर्दैछन् ।

मिथिलामा फागुन पूर्णिमाका रात राक्षसी प्रवृत्तिकी होलिकाको प्रतीक बनाएर आगो झोसेर दहन (जलाएर खरानी बनाउने) गरिने चलन छ । परिक्रमा यात्रीले पथमा पर्ने होलिका दहनको खरानी उडाउँदै आफूभित्रको खराब प्रवृत्ति अन्त्यको कामना गर्दछन् । यो खरानी उडाइने चलनलाई मिथिलामा ‘धुरा उडाउने’ भनिन्छ ।