चिया निर्यात ५० दशमलव प्रतिशतले बढ्यो

९, चैत झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको आठ महिनामा चिया निर्यात ५० दशमलव ४० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्क अनुसार गत साउनदेखि गत फागुनसम्ममा रु तीन अर्ब २० करोड दुई लाख ९१ हजार मूल्य बराबरको चिया निर्यात भएको हो ।

उक्त अवधिमा १२ हजार पाँच सय ७६ दशमलव ३५ मेट्रिकटन चिया निर्यात भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए । गत आवको सोही अवधिमा रु दुई अर्ब १२ करोड ७६ लाख ३७ हजार मूल्य बराबरको चिया निर्यात भएको थियो । कार्यालयका अनुसार चालु आवको फागुन मसान्तसम्म अलैँचीको निर्यात १२ दशमलव आठ प्रतिशतले बढेको छ ।

हुमागाईंका अनुसार चालु आवको आठ महिनामा रु पाँच अर्ब ८३ करोड ७३ लाख ६८ हजार मूल्य बराबरको अलैँची निर्यात भएको छ । गत आवको सोही अवधिमा रु पाँच अर्ब १७ करोड २६ लाख ९७ हजार मूल्य बराबरको अलैँची निर्यात भएको थियो ।

भन्सार कार्यालयका अनुसार सिमेन्ट क्लिङ्कर दुई सय चार दशमलव सात प्रतिशत, भेनियरसिट ७४ दशमलव तीन प्रतिशत र मोलासिसको निर्यातमा चार हजार पाँच सय ८९ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ ।