
१४ चैत,काठमाडौं ।गैरआवासीय नेपालीहरूको परोपकारी संस्था एमआईटी फाउन्डेसनले काठमाडौंमा दिगो स्टार्टअप र उद्यमशीलता सम्मेलन गर्ने भएको छ।
फाउन्डेसनले आउँदो शनिबार युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन (यूएनडीओ) उद्योग वाणिज्य संघ अन्तर्गतको नेपाली युवा उद्यमी मञ्चसँगको सहकार्यमा सो सम्मेलन आयोजना गर्न लागेको हो।
ललितपुरको होटल हिमालयमा आयोजना हुने सम्मेलनले नीति निर्माता,उद्यमी र नेपाली प्रवासी समुदायका सदस्यहरूलाई एकीकृत गरी सस्टेनेबल व्यापार मोडेलहरूलाई प्रवर्द्धन गर्ने र नेपालमा विदेशी लगानी आकर्षित गर्ने सम्भावनाहरू खोज्ने लक्ष्य राखिएको बताइएको छ।
सम्मेलनमा नेपालको अर्थतन्त्रको रूपान्तरण,वैदेशिक लगानीका सम्भावना,स्थानीय स्टार्टअपहरूलाई विश्वव्यापी विशेषज्ञता प्रदान गर्ने,कृषि स्टार्टअपको प्रवर्द्धन लगायत विषयमा प्यानलगत छलफल हुनेछन्।
प्यानल छलफलका साथै,पर्याप्त नेटवर्किङ अवसरहरू पनि रहनेछन्।भने,सम्मेलनमा सहभागीहरूले कृषि,नेपाली उत्पादनहरू,हस्तकला तथा नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने विभिन्न स्टलहरू अवलोकन गर्न पाउनेछन्।
उक्त सस्टेनेबल स्टार्टअप र उद्यमशीलता सम्मेलनले प्रवासी समुदाय र स्थानीय उद्यमीहरूबीच उपयुक्त सहकार्यका लागि उत्प्रेरकको भूमिका निर्वाह गर्ने लक्ष्य राखेको छ।
