
सीता पौडेल (अर्चना)
४ बैशाख ,काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले तेस्रो संस्करणको बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट (बीआईटीएम) २०२५ को औपचारिक घोषणा गरेको छ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर नाट्टाले यहि आउँदो जेठ १० गतेदेखि १२ गतेसम्म बीआईटीएम २०२५ को आयोजना गरिएको घोषणा गरेको हो । नाट्टाका अध्यक्ष कुमारमणि थपलियाका अनुसार नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा हुने सो कार्यक्रमका लागि गत चैत्र २२ गते नै सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो।
नेपाल पर्यटन बोर्डको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले सो सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको अध्यक्ष थपलियाले बताउनुभयो ।उपस्थित सबैलाई स्वागत गर्दै अध्यक्ष थपलियाले बुद्धको आदेशमा उहाँका शिष्यहरुले गरेको भ्रमणबाट ट्राभल हिस्ट्रीको शुरुवात भएको जिकिर गर्दै बीआईटीएम नाट्टाको ब्राण्ड विस्तारको कार्यक्रम मात्रै नभएर देशकै ब्राण्ड विस्तारको कार्यक्रम रहेको दाबी गर्नुभयो ।
उक्त पत्रकार सम्मेलनमा बीआईटीएम २०२५ की संयोजक एवं संस्थाकी वरिष्ठ उपाध्यक्ष जिश्वाँ तुलाधर (श्रेष्ठ)ले २०८२ जेठ १० देखि १२ गतेसम्म काठमाडौं र लुम्बिनीमा भव्य रूपमा आयोजना गरिने र पहिलो र दोस्रो सस्करणमा भन्दा उल्लेख्य सहभागिता रहने आँकलन गरिएको हुँदा सोहि अनुसारको व्यवस्थापनको राम्रो तयारी गरिएको बताउनुभयो ।
साथै उहाँले अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी जेठ १० र ११ गते काठमाडौंस्थित पाँचतारे होटेलमा उद्घाटन समारोहको आयोजना गरिएको र जेठ १२ गते लुम्बिनीमा बीटुबी सत्र,नेटवर्किङ डिनरसहित समापन समारोह गर्ने कार्यतालिका रहेको समेत स्पष्ट पार्नुभयोा ।
संयोजक तुलाधरका अनुसार बीआईटीएम २०२५मा भारत,चीन,भुटान,म्यानमार,थाइल्याण्ड,मलेसिया,श्रीलंका लगायतका पर्यटनप्रति अभिरुचि राख्ने १ सय ५० भन्दा बढी अन्तर्राष्ट्रिय बौद्ध खरिदकर्ता तथा ६० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बिक्रेताहरूको सहभागिता रहने अपेक्षा गरिएको छ भने ११ सयभन्दा बढी आगन्तुकहरूको उपस्थिति रहने अपेक्षा आयोजकको छ ।
सो पत्रकार सम्मेलनमा संयोजक तुलाधरले बीआईटीएम २०२५मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन व्यवसायीहरु,राष्ट्रिय र अन्तर्राष्ट्रिय साझेदार र विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरू लगायत बौद्धमार्गीहरूको उल्लेख्य संख्यामा सहभागिता रहने समेत जिकिर गर्नुभयो ।
यसका लागि नाट्टाले २०८२ बैशाख २८ भित्र सहभागीहरूले अनिवार्य दर्ता गर्नुपर्ने जनाएको छ। २०८२ बैशाख १८ भित्र दर्ता गर्ने सहभागीहरूलाई अर्लिबर्ड छुट उपलब्ध गराइएको आयोजकको भनाई छ।आयोजकका अनुसार इच्छुक सहभागिहरुले नाटाको ‘डब्लुडब्लुडब्लु डट बीआईटीएम नेपाल डटकम’नामक वेबसाइटमा गई दर्ता गराउनु पर्नेछ भने सो वेबसाइटमार्फत कार्यक्रमको विस्तृत विवरण सम्बन्धी विविध सूचनाहरू प्राप्त गर्न सकिनेछ ।
सम्मेलनमा नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले यसअघि उल्लेख्य मात्रामा इण्डियन ट्राभल्स एजेन्सीहरुबाट काम हुँदै आएको स्पष्ट पार्दै अबदेखि बुद्ध जन्मेको नेपालकै पवित्र भूमिबाट नेपालीले नै यसको लाभ लिन सक्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।साथै उहाँले बुद्धिजम पछिल्लो समय धर्मभन्दा बढी फिलोसफीका रुपमा विस्तार हुँदै गएको समेत जिकिर गर्नुभयो ।
नेपालमा बौद्ध सम्पदाको प्रचुर सम्भावना रहेको र बीआईटीएम २०२५ ले नेपाललाई अन्तर्राष्ट्रिय बौद्ध तीर्थ पर्यटन क्षेत्रमा प्रमुख स्थान प्रदान गर्नुका साथै पर्यटन प्रवर्द्धनसहित दीगो विकासमा टेवा पुर्याउने आशा लिइएको बताउनुभयो । उहाँले कार्यक्रमको प्रकृति अनुसार आर्थिक भार निकै रहने अनुमान गरिएको हुँदा आर्थिक सहयोग गर्न पनि विभिन्न उद्योगी व्यवसायीहरुलाई आग्रह समेत गर्नुभयो ।

आयोजकले बीआईटीएम २०२५ नेपालको धार्मिक पर्यटन,विशेषतः बौद्ध सम्पदाको प्रवर्द्धनका लागि प्रभावकारी तवरबाट महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ ।
यसलाई अन्तर्राष्ट्रिय स्तरको समावेशी,परिणाममुखी र ऐतिहासिक बनाउने प्रतिबद्धता जनाएको छ ।
नेपाल पर्यटन बोर्डका कार्यसमिति सदस्य ऋषीराम भण्डारी, राजेन्द्र बहादुर लामा लगायत बीआईटीएमका प्रतिनिधीहरुको पनि उल्लेख्य सहभागिता रहेको सो पत्रकार सम्मेलनको सञ्चालन बीआईटीएमका कार्यकारी प्रमुख रघुनाथ बिडारीले गर्नु भएको थियो ।
बीआईटीएम २०२५ का लागि प्लाटिनम,डाइमन्ड, गोल्ड र सिल्भर स्तरका प्रायोजन प्याकेजहरूको समेत व्यवस्था गरिएको छ ।
