विदेशबाट फर्किएका युवा बाख्रा पालन व्यवसायमा संलग्न

७, वैशाख दाङ । वैदेशिक रोजगारबाट फर्किएका युवा पशुपालन पेसामा आबद्ध हुँदै गएका छन् । जिल्लाका युवाहरू भैँसी, कुखुरा, बाख्रालगायत पेसा, व्यवसायमा संलग्न भएका हुन् । बाहिरी देशमा भनेजस्तो तलब र काम नपाइने युवाहरू पछिल्लो समय पशुपालन व्यवसायबाट मनग्य आम्दानी गरिरहेका छन् ।

दाङमा मामा भान्जा मिलेर विगत तीन वर्षदेखि व्यावसायिक रूपमा बाख्रा पालन व्यवसाय गर्दै आएका छन् । घोराही उपमहानगरपालिका–१२ रमनामा बुद्ध बाख्रा फार्ममार्फत व्यवसायमा जोडिएका ३४ वर्षीय भान्जा जनक बुढा र उनका मामा ५४ वर्षीय मनबहादुर बुढा बाख्रा पालन व्यवसायबाट सन्तुष्ट छन् । जनक पाँच वर्ष र मनबहादुर २५ वर्ष रोजगारका लागि साउदीमा जीवन व्यतीत गरेका हुन् ।

किसान जनक विदेशबाट आएर बाख्रा पालन व्यवसाय सुरु गरेको बताउँछन् । उनले भने, “वार्षिक रूपमा बाख्राको बिक्रीबाट एक वर्षमा रु. १० लाख आम्दानी हुन्छ ।” तर बाख्राको दानापानी, औषधिलगायतमा खर्च हुने हुँदा त्यति धेरै बचत गर्न सकिएको छैन । अरूको देशमा बसेर सोचेजस्तो कमाई गर्न नसकिएको हुँदा अहिले आफ्नै देशमा बाख्रा पालन व्यवसायबाट सन्तुष्ट छौँ, भोलिका दिनमा व्यवसायलाई बढाउँदै लैजाने उनको सोच छ ।

फार्ममा हाल ७५ वटा बोयर, खरी र लोकल जातका बाख्रा छन् । दुई बिघा जग्गा भाडामा लिएर बाख्रा पालन गर्दै आएका अर्का किसान मनबहादुर बुढा बताउँछन् । बाबुबाजेले गरेको पेसा पशुपालन भएकाले यही नै उत्तम व्यवसाय लागेको उनको भनाइ छ ।घाँसका लागि आफैँ छर्ने गरेको हुँदा घाँसको समस्या नहुने उनी बताउँछन् । गत वर्ष मात्रै ५४ वटा बाख्रा रोग लागेर मरेका कारण रु. दुई लाख ५० बढी घाटा भएको उनले सुनाए ।

यसैलाई निरन्तरता दिँदै जाँदा सफल हुँदै जानेमा उनीहरू आशावादी छन् । उनीहरूले एउटा खसीलाई रु. ५४ हजारसम्म बिक्री गर्ने गरेका छन् । फार्ममा धेरै काम भएका बेला घरपरिवारले पनि सहयोग गर्ने भएको हुँदा अन्य कामदारको आवश्यक नपर्ने गरेको मनबहादुर बताउँछन् । सुरुमा आठ वटा बाख्राबाट सुरु गरेको व्यवसाय हाल भने बढ्दै गएको छ ।