
१०, वैशाख काठमाडौं । नेपाल र भारतबीच लम्की-बरेली र इनरुवा-*पूर्णिया अन्तरदेशीय प्रसारण लाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
दुई देशबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यसहित ४०० केभी क्षमताका यी अन्तरदेशीय प्रसारण लाइन निर्माणका मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।
नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र भारतका विद्युत् तथा आवास मन्त्री मनोहरलाल खट्टरको संयुक्त उपस्थितिमा उक्त सम्झौता सम्पन्न भएको छ ।
भारतीय मन्त्री खट्टर ऊर्जा मन्त्री खड्काको निमन्त्रणमा दुई दिने नेपाल भ्रमणमा छन्। सम्झौताअनुसार इनरुवा–न्यु पूर्णिया र दोदोधारा (लम्की)–बरेली प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी गठन गरिनेछ, जसमा सम्बन्धित देशको ५१ प्रतिशत शेयर स्वामित्व हुनेछ भने बाँकी ४९ प्रतिशत अर्को देशको हुनेछ ।
नेपाल विद्युत् प्राधिकरणका निर्देशक कमल आचार्य र भारतका पावर ग्रिड लिमिटेडका निर्देशक डा। यतिन्द्र दुवेदीले संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा मन्तव्य दिँदै ऊर्जा मन्त्री दीपक खड्काले नेपाल(भारत ऊर्जा सहकार्यलाई ’साझा समृद्धिको प्रतीक’को रूपमा व्याख्या गर्दै इनरुवा-न्यु पूर्णिया र दोदोधारा-बरेली प्रसारण लाइनलाई केवल संरचना नभई आपसी विश्वास र दिगो विकासतर्फको साझा यात्रा भएको उल्लेख गरे।
मन्त्री खड्काले अरुण-३, लोअर अरुण, अरुण-४, फुकट कर्णाली, अपर कर्णाली, एसआर–६, र वेस्ट सेतीजस्ता ठूला जलविद्युत् परियोजनामा भारतको निरन्तर सहयोगप्रति आभार प्रकट गरे। २०२४ नोभेम्बर १५ मा सुरु भएको नेपाल बंगलादेश विद्युत् व्यापारका लागि भारतको सहयोगको पनि प्रशंसा गरे।
भारतीय मन्त्री मनोहरलाल खट्टरले ऊर्जा क्षेत्रमा भएको प्रगति भारत र नेपालको गहिरिँदो सम्बन्धको द्योतक भएको उल्लेख गरे। उनले सन् २०२२ मा नेपाल–भारतबीच जारी गरिएको संयुक्त दृष्टिकोणपत्रको स्मरण गर्दै तीन प्रमुख आधार९संयुक्त उत्पादन, सीमापार पूर्वाधार र विद्युत् व्यापारमा उल्लेखनीय प्रगति भएकोमा सन्तोष व्यक्त गरे ।
उनले गोरखपुर–बुटवल प्रसारण लाइन निर्माण सुरु भएसँगै नयाँ परियोजनाहरूले द्विपक्षीय ऊर्जा सुरक्षालाई थप बलियो बनाउने विश्वास व्यक्त गरे। साथै, खट्टरले नेपाली विद्युत् भारत हुँदै बंगलादेश निर्यात हुनु ऐतिहासिक उपलब्धि भएको बताए।
