
१०, वैशाख काठमाडौं । संघीय निजामती सेवा विधेयक आज संसदीय समितिबाट पास गर्ने तयारी छ ।
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकबाट विधेयक पास गर्ने तयारी गरिएको हो ।
नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुका अनुसार विधेयकमा करिब सहमति जुटेको छ । उनका अनुसार ट्रेड युनियनको विषयमा रहेको विवाद पनि समाधान भएको छ । हाल रहेकै जस्तो ट्रेड युनियनको अधिकार कर्मचारीले निरन्तर पाउने गरी कानुन बनाउने विषयमा सहमति जुटेको हो ।
प्रदेश सचिव प्रदेश निजामती सेवाकै हुने छ । तर, दश वर्षसम्म संघबाट प्रदेश सचिव खटाउन सक्नेगरी ऐन बनाउने विषयमा सहमति भएको छ । स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत प्रदेश निजामती सेवाको हुने छ । तर, यो पदमा पनि संघले दश वर्षसम्म कर्मचारी खटाउने गरी ऐन बन्ने भएको छ ।
