
१२, वैशाख काठमाडों । गृहमन्त्री रमेश लेखकले प्रकृतिलाई बिगारेर आफैँ जोखिम निम्त्याउन नहुने बताएका छन् । २०७२ सालमा गएको भूकम्पको संस्मरणमा ललितपुर महानगरपालिकाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रकृतिको नियम बिगारेमा आफैँ जोखिममा पर्ने बताए ।
गृहमन्त्री लेखकले पर्यावरणलाई स्वच्छ राख्नुपर्ने बताउँदै केन्द्र, प्रदेश, स्थानीय सरकार मिलेर विपद्को न्यूनीकरण गर्न जरुरी रहेको बताए । उनले आजको दिन विगतका दुःख स्मरण गर्नका सँगसँगै आगामी दिनमा यस्ता पीडाबाट सुरक्षित हुन्छौँ भन्ने प्रतिबद्धता पनि व्यक्त गर्ने दिन रहेको उल्लेख गरे ।
सरकार भनेको प्रधानमन्त्री, मन्त्रीहरू मात्रै नभई समग्र नागरिक रहेको बताए । नागरिकहरू कुनै न कुनै हिसाबले सरकारसँग जोडिने भएकाले सबै मिलेर विपद्बाट जोगिनका लागि काम गर्नुपर्ने सुझाव दिए । उनले प्रकृति नियमले र मानिस नियतले चल्ने भएकाले मानिसको नियतका कारण प्रकृतिको नियम बिगार्न नहुने बताए ।
