
१९, वैशाख काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम आज संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा प्रस्तुत हुँदैछ ।
संघीय संसद्को बैठक आज दिउँसो ३ बजे बजेका लागि बोलाइएको छ । सोही बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् ।
त्यसअघि सभामुख देवराज घिमिरेले दिउँसो २ बजेर ४५ मिनेटभित्र प्रतिनिधिसभाका सदस्यहरुलाई आसनग्रहण गरिसक्न र निर्धारित पोशाकमा उपस्थित हुन आग्रह गरेका छन् । यसअघि नै सत्ता साझेदार राजनीतिक दलका बीचमा अर्थतन्त्रलाई थप चलायनमान बनाउने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने विषयमा छलफल भइसकेको छ ।
यस्तै नीति तथा कार्यक्रममा युवामा आशा जगाउने, उद्यमशीलता, सीप विकास, स्टार्टअप, व्यावसायिक योजना, सरकारको खर्च वृद्धि गर्ने र सुशासन कायम गर्ने विषयमा नीति तथा कार्यक्रम केन्द्रित हुने जनाइएको छ । संघीय संसद् सचिवालयले यही वैशाख २२ देखि २८ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यसूची तय गरिसकेको छ ।
