
१९, वैशाख काठमाडौं । नेपालको वन क्षेत्रमा काम गर्ने अनौपचारिक श्रमिकहरूको बीमाको सुनिश्चितताका लागि वर्षौँदेखि माग गरिए पनि सुनुवाइ भने हुन सकेको छैन । वन क्षेत्रमा कार्यरत हजारौँ श्रमिक ज्यान जोखिममा राखेर दैनिक जोखिमपूर्ण वातावरणमा काम गर्ने भएकाले उनीहरूलाई राज्यले बीमाको व्यवस्था गरिदिनुपर्ने भन्दै माग गरिएको हो ।
वन श्रमिकले जङ्गलका रूख काट्ने, काठ बोक्ने, उकालो–ओरालो जङ्गलमा हिँड्ने, चिप्लो बाटोमा काम गर्ने र जङ्गली जनावरका आक्रमणको सामना गर्नुपर्ने, डढेलोजस्ता विपद्मा काम गर्नुपर्नेलगायत जोखिम सामना गर्नुपर्दा उनीहरूको जीवन र स्वास्थ्यको सुरक्षा सुनिश्चित गर्न बीमा अपरिहार्य रहेको सरोकारवालाको माग छ । वन अधिकारकर्मीले पनि बीमाले दुर्घटना, अपाङ्गता वा मृत्युको अवस्थामा श्रमिक र उनको परिवारलाई आर्थिक सहायता प्रदान गर्ने र यसले आकस्मिक घटनाको सामना गर्न सहयोग पुर्याउने बताएका छन् ।
वनविद् डा। राजेश राईले वन क्षेत्रमा काम गर्ने श्रमिकलाई तालिमको व्यवस्था नहुनु, बीमाको व्यवस्था नहुनु, सुरक्षाका सामग्रीको व्यवस्था नहुनुलगायत समस्याले उनीहरूले जोखिमपूर्ण वातावरणमा काम गर्नुपरेको बताए । “वन क्षेत्रमा काम गर्ने श्रमिकको न बीमा छ न सुरक्षा नै”, उनी भन्छन्, “बीमाले उनीहरूको परिवारलाई आर्थिक रूपमा सुरक्षित राख्न मद्दत गर्छ । जसले सामाजिक सुरक्षाको भावना बढाउँछ ।”
वन अधिकारकर्मीले वन श्रमिकको बीमा हुनुपर्ने आवाज उठाएको वर्षौँ भए पनि सुनुवाइ भने अहिलेसम्म हुन नसकेको भन्दै आपत्ति जनाउँदै आइरहेका छन् । वन अधिकारकर्मी भोला भट्टराईले वन क्षेत्रको संरक्षण र सदुपयोगमा काम गर्नेहरूले जोखिमपूर्ण वातावरणमा काम गर्नुपरेको भन्दै बीमा अनिवार्य रहेको बताए । “रूख कटान मुछानका क्रममा होस्, नर्सरीमा काम गर्दा तथा वनजन्य उद्यममा काम गर्दा होस्, वन्यजन्तुको आक्रमणको खतरा, तस्करको डर, रूख काट्दा रूखले किचेर तथा हुरी बतास चल्दा रूखका हाँगा भाँचिएर हुने खतरा छन् ।
यसैगरी भिरालो स्थानमा काम गर्दा लड्ने, चिप्लने र घाइते हुने तथा मृत्यु नै हुने खतरा हुन्छ”, उनले भने, “पर्यावरण तथा स्रोत संस्था ९इआरआई०ले सन् २०१३ मा गरेको अध्ययानअनुसार पनि वन क्षेत्रमा वार्षिक अनौपचारिक श्रमिक १५ लाख छन्, तर उनीहरूको पेसागत सुरक्षाको कुरा सम्बोधन भएको अवस्था छैन ।”
