खानेपानीकै लागि बस्ती सानुपर्ने अवस्थाको अन्त्य गर्छौं : मन्त्री यादव

२१, वैशाख काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले प्रत्येक नेपाली नागरिकका घर घरमा धारा र धारामा सुरक्षित खानेपानी भन्ने दृढ संकल्पका साथ अघि बढिरहेको बताएका छन् ।

आइतबार इलामको श्रीअन्तु सामालबुङ खानेपानी आयोजनाको उद्घाटन गर्दै मन्त्री यादवले देशका विभिन्न ग्रामीण बस्तीमा अहिले पनि शुद्ध खानेपानीको अभावले थुप्रै समस्या देखापरेकाले ती समस्या समाधान गर्ने सरकारको प्रमुख प्राथमिकता रहेको बताए ।

‘खानेपानी समस्याकै कारण देशका कयौँ ठाउँमा अहिले पनि नागरिकले बस्ति सार्नु पर्ने अवस्था छ । सरकारले खानेपानीका समस्या समाधानका लागि ठोस योजनाहरु अघि सारेको छ । खानेपानीकै लागि बस्ति सार्नु पर्ने अवस्थाको अन्त गर्छौँ,’ उनले भने ।

यसैगरी उनले सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा सबै नागरिकलाई स्वच्छ र गुणस्तीय खानेपानी उपलब्ध गराउने तथा सरफाइका क्षेत्रमा लगानी वृद्धि गरेर दिगो विकासको लक्ष्य हासिल गर्ने बताए ।

‘विपद्का कारण भत्किएका खानेपानीका आयोजनाहरू र अधुरा खानेपानी आयोजनाको मर्मत गरी पानीको पहुँच वृद्धि गरी स्थानीय तह र उपभोक्ताको सहलगानीमा खानेपानी आयोजना एकीकृत रुपमा सञ्चालन गर्नेछौँ,’ उनले भने ।