
२२, वैशाख काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्याय निरूपण गर्न प्रयासरत रहेको प्रस्ट पारेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार द्वन्द्वपीडित एवं अभियन्ता देवी खड्कासहितका प्रतिनिधिसँगको भेटवार्तामा प्रधानमन्त्री ओलीले मानवताविरुद्धका घटनामा संलग्नलाई कानुनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले १० बर्से सशस्त्र द्वन्द्वकालदेखि नै शान्तिका पक्षमा स्पष्ट कुरा राख्दै आएकाले अहिलेको सरकारका पालामा गठन हुने आयोग र यसको प्रक्रियामा अविश्वास नगर्न पनि सरोकारवालासँग आग्रह गरे ।
प्रधानमन्त्री ओलीले राजनीतिक असमझदारीका कारणले सङ्क्रमणकालीन न्यायको प्रक्रिया लामो समय लिएको स्पष्ट पार्दै बलात्कार जस्ता मानवताविरुद्धको जघन्य अपराध गर्नेलाई कानुनी कठघरामा उभ्याएर सजाय दिएरै छाड्ने तथा पीडितलाई न्याय र परिपूरण दिएरै छाड्ने उद्घोष गरे । उनले भने, “मलाई पीडितसँग खेल्नु, छक्याउनु र अलमल्याउनु छैन । सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुग्ने दिशामा जाऊँ भन्ने मात्रै मेरो ध्यान हो ।”
प्रधानमन्त्री ओलीले द्वन्द्वमा प्रत्यक्ष संलग्न नहुँदा नहुँदै पनि आफ्नो पार्टी एमाले पनि एक प्रकारले पीडित भएको बताउनुभयो । उहाँले भने, “शान्तिका पक्षमा लाग्दालाग्दै हाम्रा नेताहरूलाई पनि अमानवीय रूपमा मारिएको छ । समग्रमा भन्ने हो भने हिंसात्मक राजनीतिबाट हामी सबै पीडित छौँ । त्यस बेलाका द्वन्द्वरत पक्ष सरकार र माओवादी पनि पीडित छन् । पीडक पनि त्यहीँभित्र छन् ।”
उनले द्वन्द्वबाट सिङ्गो राष्ट्र पीडित भएकाले अब यसको समाधानमा लाग्नुपर्ने बताए । उनले भने, “द्वन्द्वबाट देशै पीडित छ । अब यस्ता शृङ्खला सधैँका लागि रोकौँ भन्ने हाम्रो प्रयास हो, यो प्रक्रियामा नआत्तिएर धैर्यपूर्वक, असल र सही परिणाम ल्याउनका निम्ति एक भएर लाग्न आग्रह गर्छु ।”
