जलवायु संकट नियन्त्रणका प्रयासमा सञ्चार क्षेत्र सक्रिय हुनुपर्नेमा उपराष्ट्रको जोड

२७, वैशाख ललितपुर । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जलवायु परिवर्तन वर्तमानको सबैभन्दा गम्भीर संकट भएको बताएका छन् । साथै उनले जलवायु संकट नियन्त्रणका हरेक प्रयासमा सञ्चार क्षेत्र सक्रिय हुनुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन केन्द्रीय समितिद्वारा ललितपुरमा आज आयोजित लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको उद्घाटन गर्दै उनले जलवायु परिवर्तनका कारण उत्पन्न संकट नियन्त्रण तथा समाजमा चेतना फैलाउन मिडियाले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

“जलवायु परिवर्तन र त्यसको प्रभाव घटाउन पत्रकारहरूको सक्रियता आवश्यक छ । सत्य तथ्यमा आधारित समाचार सामग्रीहरूको उत्पादन गर्दै जनचेतना फैलाउने, नीति निर्मातालाई उत्तरदायी बनाउने, नवीन प्रविधिको प्रयोग तथा समस्या समाधानका उपायका साथ मिडिया प्रस्तुत हुनुपर्छ,” उनले भने । जलवायु परिवर्तन रोकथामका सरकारी प्रयासहरूमाथि निगरानी बढाउने, वातावरणमैत्री प्रविधि, हरित ऊर्जा तथा दिगो विकाससम्बन्धी जानकारी आम नागरिकसम्म सरल भाषामा पस्कन उपराष्ट्रपतिले पत्रकारहरूलाई सुझाव दिए ।

सनसनी फैलाउने समाचारले गलत सूचना प्रवाह गर्ने भएकाले त्यसप्रति पत्रकारहरू सचेत हुनुपर्नेमा उनले जोड दिए । उनले पत्रकारहरू पेशागत रूपमा निरपेक्ष हुनुपर्नेमा जोड दिए ।