कर्मचारीको तलब वृद्धि गर्न गृहकार्य

३०, वैशाख काठमाडौं । राज्यको स्रोत र साधानलाई हेरेर आगामी आर्थिक वर्ष २०८२/८३ मा कर्मचारीको तलब वृद्धि गर्ने गरी आन्तरिक गृहकार्य हुने भएको छ । कर्मचारीलाई सेवाप्रति थप उत्साह प्रदान गर्नका लागि सरकारले तलब वृद्धि गर्ने आन्तरिक गृहकार्य गर्न लागेको हो ।

यसअघि सरकारले आव २०७९/८० मा सबै कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको थियो । निजामती सेवा ऐन अनुसार हरेक तीनरतीन वर्षमा कर्मचारीको तलब वृद्धि गर्नुपर्ने नियम छ । आगामी आव २०८२/८३ मा कर्मचारीको तलब वृद्वि गर्ने वर्ष भएकाले सरकारले कर्मचारीको तलब वृद्विका लागि आन्तरिक गृहकार्य गर्ने भएको हो ।

उच्चस्तरीय तलब सुझाव आयोगले दुई वर्षअघि तलब दिने निकायको क्षमता अभिवृद्धि गरी कर्मचारीको जीवन निर्वाह गर्न पुग्ने आवश्यक तलब दिनुपर्ने व्यवस्थासहित प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

सरकारले गत वैशाख १९ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद्बाट पारित भएसँगै अहिले सरकार बजेट निर्माणको गृहकार्यमा जुटेको छ ।