
२, जेठ काठमाडौं । प्रतिनिधिसभाका सदस्यहरूले मनसुन सुरु हुन लाग्दा प्राकृतिक जोखिम र क्षति न्यूनीकरण गर्न तीनै तहका सरकारको समन्वय आवश्यक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
सभाको आजको बैठकको शून्य समयमा सांसद अर्जुन नरसिंह केसीले नेपाल प्राकृतिक जोखिमको उच्चतम विन्दुमा रहेकाले वर्षायाम सुरु हुन लागेसँगै सतर्कता अपनाउनुपर्ने बताए । उनले भने, “विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सुझाव सरकारले गम्भीर रूपमा लिनुपर्छ । तीनै तहको समन्वय र आवश्यक बजेट विनियोजन गर्न आवश्यक छ ।”
सांसद जनार्दन शर्माले जाजरकोट र रुकुम जिल्लामा अलपत्र परेका विकास निर्माणका कामबारे सरकारको ध्यानाकर्षण गराए । सांसद अम्बरबहादुर रायमाझीले पनि देशका राजमार्गको अवस्था बिग्रिँदो अवस्थामा रहेकाले मनसुन सुरु हुन लाग्दा समयमै ध्यान दिनुपर्ने बताए । “राजधानीबाट पूर्वतर्फ यात्रा गर्ने बिपी राजमार्ग जीर्ण अवस्थामा छ यसका लागि वैकल्पिक मार्गको व्यवस्था होस् भनेर माग गर्दछु”, उनले भने ।
सांसद अच्युतप्रसाद मैनालीले त्रिभुवन विश्वविद्यालयलाई गुणस्तरीय बनाउन सके विदेशी विद्यार्थीलाई समेत आकर्षित गर्न सकिने बताए । सांसद अनिशा नेपालीले महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सल्यानका १० वटै स्थानीय तहमा करोडौँ बेरुजु देखिएकाले यसका कारणबारे छानबिन हुनुपर्ने बताए ।
