
५, वैशाख काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारी मिडियाहरुले कुनै नेताहरुको प्रचार नगरी मुलुकमा भएका विकासको चर्चा गर्न आग्रह गरेका छन् ।
सार्वजनिक सेवा प्रसारण नेपाल (पिएसबी) संस्थाले सोमबार नेपाल टेलिभिजनमा आयोजना गरेको ‘सार्वजनिक सेवा प्रसारण नेपाल रुपान्तरण बहस विविधता, विशिष्टता, पहुँच, प्रभाव र प्रवर्धन’ विषयमा गरेको छलफल कार्यक्रममा सञ्चार मन्त्री गुरुङले यस्तो धारणा राखेका हुन् । मन्त्री गुरुङका अनुसार सार्वजनिक सेवा प्रसारण नेपाली जनताको आवाज र जनताको प्रतिनिधित्व गर्ने हुँदा यसले अबको कार्यदिशालाई समयसापेक्ष रुपान्तरण गर्न सुझाव दिएका छन् ।
पिएसबीले उठान गर्ने मुद्दाहरुमा राष्ट्रियता एकताको भाव जगाउने, जनताको दुःख मर्कालाई उजागर गर्ने, समृद्धि र सुशासनमा जोड पुर्याउने खालका विषय वस्तु हुनुपर्ने मन्त्री गुरुङको भनाइ छ । त्यस्तै उहाँले रेडियो नेपाल र नेपाल टेलिभिजन उमेरले ठुलो भएर मात्रै चित्त बुझाउने बेला छैन, अब युग अनुकूलको कार्य सम्पादन गरेर प्रतिस्पर्धामा उत्रिन सुझाव दिए ।
मन्त्री गुरुङले भने , “रेडियो नेपाल र नेपाल टेलिभिजन उमेरले पाको भएर मात्रै पुगेन, अब समय अनुकूलको कार्य क्षमता प्रर्दशन गरेर अघि बढ्नु पर्छ ।” सरकारले गरेका गलत कार्यलाई सुधार गर्ने मार्ग चित्रका रुपमा पिएसबी देखा पर्नुपर्ने उनको तर्क छ । यद्यपि, समाजमा राष्ट्रिय एकता र सद्भाव जगाउन समावेशीमूलक पिएसबी बनाउनुपर्ने मन्त्री गुरुङको भनाइ छ । संसारमा नेपालको पहिचान स्थापित गराउन एनटिभी वर्ल्ड सुरु गर्न पनि उनले सुझाव दिए ।
