‘द्वन्द्वपीडितको न्यायका लागि मिडियाको भूमिका अपरिहार्य छ’ : अध्यक्ष गडतौला

१७, जेठ काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगकी अध्यक्ष लीलादेवी गडतौलाले द्वन्द्वपीडितलाई न्याय दिलाउन र संक्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन मिडियाको भूमिका अपरिहार्य रहेको बताएकी छन् । 

तेस्रोपटक पुनर्गठन भई हाल पूर्णता प्राप्त आयोगका गतिविधिबारे शुक्रबार सञ्चारकर्मीसँगको अन्तर्क्रियामा बोल्दै उनले मिडियाले द्वन्द्वपीडितको न्यायका लागि सकारात्मक योगदान पुर्‍याउनुपर्ने धारणा व्यक्त गरिन् । उनले भनिन्, “हाम्रो प्रतिबद्धता द्वन्द्वपीडितलाई न्याय दिलाउने हो ।

राहत, परिपूरण, क्षतिपूर्ति तथा न्याय दिलाउन मिडियाको भूमिका अपरिहार्य छ र हामी मिडियासँग सहकार्य गर्न तयार छौँ।” अध्यक्ष गडतौलाले मिडियाले समाचार प्रकाशनमा मात्र नभई जनमत निर्माणमा समेत सहयोग गर्नुपर्ने बताउँदै द्वन्द्वपीडितको संवेदनशीलता र मानवीय पक्षलाई ध्यानमा राखेर आयोगले आफ्नो कार्य छिटो सम्पन्न गर्न चाहेको स्पष्ट पारिन् ।

उनका अनुसार, आयोगमा द्वन्द्वपीडितका उजुरीहरू प्राप्त भइरहेका छन् र आगामी तीन महिनासम्म उजुरी दर्ता गर्ने व्यवस्था गरिएको छ। यो प्रक्रियालाई सहज बनाउन सबै पक्षसँग सहयोगको अपेक्षा गरिएको उनले बताइन् ।