
८ असार, काठमाडौं ।सदर चिडियाखाना जावलाखेलमा बर्डफ्लु (एच फाइभ एन वान) को संक्रमण पुष्टि भएको विषय राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को केन्द्रीय कार्यालयलाई समयमै जानकारी नगराई गुपचुप राखेको आरोपमा चिडियाखाना प्रमुख सत्यनारायण साह छानबिनमा तानिएका छन्।
कोषको अध्यक्षसमेत रहेकी कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा कोषले साहलाई चिडियाखाना प्रमुखको पदबाट हटाएको छ। कोषले चिडियाखानामा फैलिएको बर्ड फ्लूको कारण पत्ता खोज्न प्रवक्ता एवं प्रजाति विभाग प्रमुख रचना शाहको संयोजक्तमा ३ सदस्यसीय छानबिन समिति बनाइएको जनाएको छ।
समितिको सदस्यहरूमा कोषका प्रशासन प्रमुख हरिविक्रम सिंह र संरक्षण क्षेत्र विभागका प्रमुख डा.मधु क्षेत्री सदस्य छन्।दुवै जनालाई एक हप्ताभित्र छानबिन गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।
