महाधिवेशनमा पारित गरिएको विषय बोक्नु हामी सबैको कर्तव्य हो : वरिष्ठ उपाध्यक्ष पोखरेल

२९, जेठ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीलाई लोकतान्त्रिकीकरण गर्दै सुदृढ र लोकप्रिय बनाउने श्रेय अध्यक्ष केपी शर्मा ओलीलाई जाने बताएका छन् । राष्ट्रिय समाचार समितिले गणतन्त्र दिवसका उपलक्ष्यमा आयोजना गरेको तस्बिर प्रदर्शनीको अवलोकनपछि वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्ष ओलीले पार्टीलाई लोकतान्त्रीकरण बाटोमा ठिक ढङ्गबाट अघि बढाएपछि एमाले पार्टी देशकै सशक्त एवं लोकप्रिय बन्न सफल भएको स्पष्ट गरे ।

पार्टीलाई लोकतान्त्रिकीकरण गर्दै लैजाने सिलसिलामा बहुपदीय, ७० वर्षीय उमेरहद र नेतृत्वको दुई कार्यकालसम्बन्धी प्रावधान विधान महाधिवेशनबाट राखिएको स्पष्ट गर्दै उनले सो सम्बन्धमा निर्णय गर्ने ठाउँ विधान महाधिवेशन नै भएकाले अहिले त्यसका बारेमा टीकाटिप्पणी एवं छलफल गर्ने समय नभएको बताए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले स्पष्ट गर्दै भने, “हाम्रो पार्टीभित्र लोकतान्त्रीकरण अगुवाइ गर्दै सिङ्गो पार्टी पङ्क्तिलाई सचेत गराउने कामको नेतृत्वदायी भूमिका पार्टी अध्यक्ष ओलीले गर्नुभएको हो, विगतमा उहाँकै विचारबाट निर्देशित भइ अगाडि बढ्ने सिलसिलामा पार्टीभित्र लोकतान्त्रीकरण अभ्यास चलेको हो ।” सोही मान्यतालाई अघि बढाउने सिलसिलामा नेतृत्व दुई कार्यकाल र ७० वर्ष उमेरहदका विषय ल्याइएको उनको भनाइ छ ।

पार्टीको नवौँ र दशौँ महाधिवेशन तथा यसअघिका विधान महाधिवेशनमा पनि छलफल भएको विषय भएको उल्लेख गर्दै उनले यसबिचमा एमालेबाटै विभाजित भएर समाजवादीमा गएका नेताहरू फर्किन उमेर हदको सीमाले केही व्यवहारिक अप्ठ्यारो भएको बताए ।