
३०, जेठ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा उत्पादन भएको शैक्षिक जनशक्तिले देशको पहिचान कस्तो बनाउने ढङ्गले प्रस्तुत हुनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौँ विश्वविद्यालयको ३० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपतिसमेत रहनुभएका प्रधानमन्त्रीले नेपालमा उत्पादित जनशक्तिले हरेक क्षेत्रमा कर्तव्यनिष्ठ र विनम्रतापूर्वक आफूलाई प्रस्तुत गर्नुपर्ने सुझाव दिएका हुन् ।
दीक्षान्त समारोहलाई सम्बोधन गदै प्रधानमन्त्री ओलीले भने, “विद्याले घमण्डलाई प्रवेश गर्न दिँदैन, विद्याले केवल विन्रमता, मित्रता मात्रै दिन्छ। नेपालमा उत्पादित जनशक्ति अन्य मुलुकमा उत्पादित जनशक्ति भन्दा अब्बल रहेका कारण नै स्वेदशमा अध्ययन गरेर विभिन्न देशमा पुगेका नेपाली जनशक्ति दक्ष र सफल भएको छ ।”
उनले काठमाडौँ विश्वविद्यालयबाट शुक्रबार दीक्षित भएका विद्यार्थीलाई आफ्ना अभिभावकलाई माया गर्दै अत्यन्तै सामाजिक भएर आफ्नो सेवा क्षेत्रमा काम गर्न निर्देशन दिए । “सरकार शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्न तयार छ, यी क्षेत्रमा केही परिवर्तन समेत भएको छ, सरकार शिक्षाको क्षेत्रमा सचेत छ, राम्रो र गुणस्तरीय, सहज पहुँचको शिक्षा प्रदान गर्न लागेको छ”, प्रधानमन्त्री ओलीले भने। उनले माध्यमिक शिक्षा परिक्षा एसइई को परीक्षामा गत वर्षको जस्तो परीक्षाफल नआउने दाबी गर्दै यस वर्ष एसइईमा पास हुने विद्यार्थी प्रतिशत बढ्ने बताए ।
