एमालेनिकट वकिल चुनावी प्रतिस्पर्धास् उपाध्यक्षसहित अधिकांश सदस्य निर्विरोध चयन

१, असार काठमाडौं । नेकपा एमालेनिकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन पीपीएलएको नयाँ नेतृत्वको लागि निर्वाचन हुने भएको छ ।

अध्यक्षमा यसअघिका महासचिव वरिष्ठ अधिवक्ता अमर थापाको विकल्पमा पार्टी नेतृत्वले ओमप्रसाद थपलियालाई अघि सारेपछि सर्वसम्मतको प्रयास सफल भएन । यसअघि सर्वसम्मत अध्यक्ष बन्न नेतृत्वले वरिष्ठ अधिवक्ता विजयकान्त मैनाली, ईश्वरी भट्टराई र डिल्ली मैनालीलाई आग्रह गरेकोमा उनीहरूले चाहना नराखेपछि विकल्पमा थपलियालाई अघि सारिएको थियो ।

उम्मेदवारहरूको प्रारम्भिक सूचीमा अध्यक्ष पदमा थपलिया र थापाबीच प्रतिस्पर्धा हुने भएको छ । उपाध्यक्षमा वरिष्ठ अधिवक्ता भीमसेन बन्जाराको एकल उम्मेदवारी परेको छ भने महिला उपाध्यक्षमा हिमादेवी बस्नेत र यशोदा खरेलबीच प्रतिस्पर्धा हुने भएको छ ।

त्यस्तै महासचिवमा देवीप्रसाद भट्टराई, चूडामणि पौडेल, शिव अर्याल, शान्तिराम खतिवडा र भुवनप्रसाद निरौलाको उम्मेदवारी परेको छ । उपमहासचिवमा बाबुराम राई, सहकुल खत्री र बालकृष्ण आचार्यको परेको छ । सबैभन्दा धेरै उम्मेदवार सचिवमा छन् । सचिवका लागि सुदर्शन थपलिया, सरोजकुमार गिरी, प्रेमप्रसाद धिताल, मुकुन्दप्रसाद अधिकारी, रामजनक कटुवाल, अनन्तराज लुइँटेल, युवककुमार गौतम, हरिप्रसाद मैनाली र बलराम बुढाथोकीले उम्मेदवारी दिएका छन् ।

त्यस्तै महिला सचिवमा राधिका खतिवडाको एकल उम्मेदवारी परेर निर्विरोध भएकोमा अनुशासन आयोगमा उम्मेदवारी दिएकी अनिता गुरुङको नाम सचिवमा राखेर निर्वाचन समितिले गडबड गरेको देखिएपछि विवाद भएको छ । कोषाध्यक्षमा कुमारप्रसाद घिमिरे र प्रविण कुमार प्रधानको उम्मेदवारी परेको छ । प्रदेशगत रूपमा निर्वाचित हुने केन्द्रीय सदस्यहरू अधिकांशबाट निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ । दलिततर्फ कुन्जनी परियार प्यासी निर्विरोध भएकी छन् ।