
साउन २ ,काठमाडौं । नेकपा (एमाले) को पोलिटब्युरो बैठक १ बजे बस्ने भएको छ।ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा ११ बजेका लागि बोलाइएको बैठको समय सरेर १ बजे बस्ने तयारी भएको केन्द्रीय कार्यालय स्रोतले जनाएको छ ।
बिहिबार बसेको ४९ औँ बैठक लम्बिएर राती अबेर भएका कारण आजको बैठकको समय सारिएको केन्द्रीय कार्यालय स्रोतको भनाई छ।बिहीबारको बैठकले १५ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव पारित गरेको थियो ।
उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमा बिहीबार छलफल हुँदा ७० वर्षको उमेर हद र कार्यकारी पदमा २ कार्यकाल रहन पाउने व्यवस्था आगामी कार्यकालमा प्रभावित नहुने सहमति भएको थियो।
पोलिटब्युरो बैठकमा ती विषयमा पुनः छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो।
पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी कामको जिम्मेवारी दिने,नदिनेबारे बिहीबार नै विषय प्रवेश भएको भन्दै गौतमले पोलिटब्युरोमा पनि त्यसबारे चर्चा हुनसक्ने बताउनुभयो ।
बैठकका प्रायः वक्ताले पूर्वराष्ट्रपति भण्डारी पार्टी काममा फर्किनेबारे पार्टीलाई औपचारिक जानकारी नदिएका कारण अहिल्यै हतारमा निर्णय गर्न नहुने सुझएको पनि उहाँको भनाई छ।
