
काठमाडौं । नेकपा एमालेको नवौँ केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहने भएको छ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा बसेको पहिलो दिनको बैठकमा ४९ जना केन्द्रीय सदस्यले प्रतिवेदनमाथि आ–आफ्ना धारणा राखेका थिए। बैठक आज पुनः ११ बजे बस्ने तयारी भएको एमाले मुख्यालयले जनाएको छ।
बैठकमा दोस्रो विधान महाधिवेशनमा प्रस्तुत हुने उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक प्रस्ताव प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आ–आफ्ना धारणा राखेका थिए।
बैठकमा बहस नोट लेखनको जिम्मेवारी पोलिटब्युरो सदस्य सूर्य थापाको संयोजकत्वमा विष्णु रिजाल र निरज आचार्य रहेको कमिटी गठन गरिएको छ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आइतबार गण्डकी प्रदेश, मधेस प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय कमिटीका ४९ केन्द्रीय सदस्यले प्रतिवेदनमाथि धारणा राखेका थिए।अधिकांश केन्द्रीय सदस्यहरुले पार्टी सचिवालय र पोलिटब्युरोबाट सर्वसम्मत निर्णय भएर आएको विधान संशोधन प्रस्तावलाई समर्थन गरेका छन् ।
बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्य नविकरण गरेको विषयले पनि प्रवेश पाएकोप्रमुख गौतमले जानकारी दिए।
