
काभ्रेपलाञ्चोक । लिखेल ७मा २०६८ सालमा आफ्नी अवोध छोरीलाई बीच बाटोमा छोडेर बाबु फरार भएपछि सडकमा अलपत्र परेकी स्वस्तीकालाई अभियन्ता अर्जुन भूषालको पहलमा भेटिएकी छन् ।
उनका अनुसार हराएकी उनलाई धुलिखेलकै राधा माकजुले फेला पारिन् ।एक वर्ष आफ्नो साथमा राखेर धुलिखेल इङ्गलिस बोर्डिङ स्कुलमा पढाइन् ।तर,उनी धुलिखेलको बसाइ छाडेर अमेरिका जाने भइन् ।त्यसपछि स्वस्तिकालाई शर्मिला श्रेष्ठले सञ्चालन गरेको सिद्धार्थ बालगृहमा राखियो ।
सिद्धार्थ बालगृहमा बसेर १० कक्षासम्म धुलिखेलकै सञ्जीवनी नमुना माध्यमिक विद्यालय र ११ र १२ कक्षा बनेपामा रहेको आदर्श विद्या मन्दिरमा अध्ययन गरिन् ।
नागरिकता बनाउनका लागि परिवार खोज्न स्वस्तिकालाई आश्रय दिएको सिद्धार्थ बालगृहका सञ्चालक सर्मिला श्रेष्ठले धेरै प्रयास गरिन् । तर सकिनन् । आफूले नसकेपछि श्रेष्ठले यो जिम्मेवारी सामाजिक अभियन्ता अर्जुन भुसाललाई सुम्पिएकी थिइन।
भुसाल धुलिखेल नै आएर सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक गरे । भिडियो हेरेपछि स्वस्तिकाकी आमा मञ्जु केसी चितवनबाट सम्पर्कमा आइन् ।
आमासँग पुनर्मिलन भए पनि स्वस्तिका आफ्नो पिताको वास्तविकता बुझ्न चाहन्थिन् । त्यसपछि अभियन्ता अर्जुन स्वस्तिकाका बाबुको खोजिमा लागेका छन् ।‘खानेकुरा ल्याइदिन्छु, तिमी यहीँ बस’ भनेर धुलिखेलको बीच बाटोमा छोरी छोडेर हिँडेका ती बाबुको खोजी भइरहेको भूषालले आफ्नो सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
भुषालसँगको टेलिफोन संवादमा केही व्यक्तिहरूले स्वस्तिकाका बुबा केही समयअघिसम्म अमलेखगञ्जमा पेट्रोलियम पदार्थ बोक्ने ट्रकमा टोकन लगाउने काम गर्दै गरेको बताएपछि त्यहाँ भेटिन्छन् कि भनेर त्यहाँ जान लागेको भूषालले बताएका छन्।
