
१६ माघ,काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले बुढीगण्डकी जलासययुक्त जलविद्युत् आयोजना निर्माण कार्य तत्काल अगाडि बढाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।
धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको १०औं धादिङ महोत्सव उद्घाटनमा अध्यक्ष ढकालले लामो समयदेखि चर्चामा रहेको १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलासययुक्त जलविद्युत् आयोजना अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए ।
उनले नेपालभरिका उद्यमी,व्यवसायी तथा लगानीकर्ताको लगानीमा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी) कम्पनी स्थापना गरिएको र यसमा स्रोतको कमी भए निजी क्षेत्रका तर्फबाट यस कम्पनी मार्फत लगानी गर्न आफूहरू तयार रहेको समेत स्पष्ट पारे
उनले खनिज,कृषि तथा अन्य कुनै पनि उद्यम,व्यवसायमा लगानी गर्न एनडीपी तयार रहेको पनि जिकिर गरे ।निजी क्षेत्रले कुनै पनि आयोजना तोकिएको समयमा,तोकिएको गुणस्तर र तोकिएकै बजेट एवम् स्रोतमा सम्पन्न गर्ने गरेको पनि उनको दाबी छ ।
उनले भने, ‘गत भदौको जेनजी आन्दोलन क्रममा निजी क्षेत्रका धेरै उद्योग, कलकारखाना,होटल तथा व्यावसायिक प्रतिष्ठानमा आगजनी र क्षति भएको अवस्था थियो तर निजी क्षेत्रका धेरैजसोले अहिले ती व्यवसाय मर्मत र पुनर्निर्माण गर्दै सञ्चालनमा समेत ल्याइसकेका छन्।’
निजी क्षेत्रमाथि भएका धरपकड र निजी व्यवसायमाथि गरिएको प्रहारले निजी क्षेत्र भयभित भएको उनले बताए ।
अध्यक्ष ढकालले स्थानीय रूपमा आयोजना गरिने मेलामहोत्सवले स्थानीय उत्पादन प्रवर्द्धन तथा बजारीकरणमा उल्लेख्य भूमिका निर्वाह गर्ने बताउँदै यस्ता मेलामहोत्सवलाई महासंघले सदैव प्राथमिकतामा राख्ने गरेको उनको जिकिर छ ।
