कांग्रेसमा अब गुट छैन,यो ध्वंस गर्ने पार्टी पनि होइन : सभापति थापा

१६ माघ,काठमाडौं ।नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र अब कुनै गुट उप—गुट नरहेको जिकिर गरेका छन् ।धनुषा–१ मा आयोजित कार्यकर्ता भेटघाटमा उनले यस प्रकारको जिकिर गरेका हुन् ।

उनले कांग्रेस नयाँ सोच र नयाँ शैलीको साथ आएको हुँनाले मधेसले पूर्ण विश्वास गर्ने र कांग्रेसको एकलौटी सरकार बन्ने दाबी गरे।

उनले भने,‘पार्टी भित्र कुनै गुट छैन, रहँदा पनि रहँदैन।कसैले एउटा कुरा पनि नराखीकन तपाईँहरूले काम गरिदिनुहोला। यो हिजोको पार्टी होइन,हामी फरक ढङ्गले आएका छौँ,फरक सोचका साथमा आएका छौँ।

त्यसैले पार्टीको उम्मेदवारको,कांग्रेसको कार्यकर्ता भएर ‘गाछी’ चिन्ह लिएर उम्मेदवार आइसके पछाडि,मलाई व्यक्तिगत रूपमा के लाग्छ भन्ने कुरा अब गौण भयो। त्यसको कुनै पनि अर्थ छैन । पछि बसौँला,छलफल गरौँला।’

उनले भोलि कुनै पार्टीका नेताहरूले असहयोग गरेको कतै सुन्नु नपर्ने अवस्था ल्याउन आग्रह गरे।

 ‘हामी ध्वंस गर्ने पार्टी होइनौ्, उत्तेजना फैलाउने पार्टी होइनौं।कांग्रेस भनेको सम्हाल्ने शक्ति हो।यो ठाउँको प्रत्येक घरमा तपाईँले सन्देश पठाउनुपर्छ।हामीलाई ध्वंस गर्ने शक्ति होइन, हामीलाई सम्हाल्ने शक्ति चाहिएको छ,मिलाउने शक्ति चाहिएको छ,सच्याउने,सुधार्ने शक्ति चाहिएको छ।’ उनले थपे ।