
२७ चैत, भक्तपुर । भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु हुँदैछ । आज साँझ तमारीस्थित पाँचतल्ले मन्दिर अगाडिबाट भद्रकालीको रथलाई घट्खा टोलमा पुर्याई भैलखः(भैरवनाथको रथ) तानातान गरी जात्राको सुरुआत गरिन्छ ।
काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीन तल्ले भैलखःमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा रहेको छ । तान्नु अघि भैलखःमा खड्ग, तरवार, निशान राख्ने गर्दछ ।
बिस्का जात्राको पहिलो दिन पाँचतल्ले मन्दिर प्राङ्गणबाट भैलखलाई क्वने र थनेका बासिन्दाले अगाडि पाँच र पछाडि चार वटा डोरी तानातान गरेर आ–आफ्नो टोलतर्फ लैजाने परपम्परा रहेको छ ।
जात्राको मुख्य आकर्षण नै भैलखः तानातान गर्नु हो ।
जात्राको दोस्रो दिनलाई शुन्य मानिन्छ । तेस्रो दिन गःहिटीमा भैरवनाथलाई राँगो बली चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । उक्त बलिपुजाको मासु प्रसादका रुपमा लाकुलाछेबासीलाई बाँडिन्छ, जसलाई स्थानीय भाषामा ‘स्याःक्वःत्याःक्वः’ भनिन्छ ।
जात्राको छैटौँ दिन महाकाली र महालक्ष्मीको जात्रा गरिन्छ । सातौँ दिन तचपालमा ब्रम्हायणी र महेश्वरीको जात्रा गरिन्छ । यसै दिन तालाक्वमा बटुकभैरव र ज्याठा गणेशको सिन्दूर जात्रा गरिन्छ भने खँलामा परदेशी भीमसेनको खटजात्रा मनाइन्छ ।
आठौँ दिनमा भक्तपुरका शक्तिशाली देवदेवीहरुलाई आ–आफ्नो द्यो छेंबाट निकाली प्राङ्गण, सतल र पाटीहरुमा राखेर पूजा गरी विभिन्न प्रसाद चढाएर द्यो स्वगं पूजा (सगुन जात्रा) मनाइन्छ ।
जात्राको अन्तिम दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह यसींद्यो (हात नभएको लिङ्गो) ढाल्ने जात्रा मनाइन्छ । साँझ चोछें टोलमा छुमा गणेश जात्रा मनाइन्छ । यस दिन भैलखःलाई गःहिटीबाट पहिलो दिनमा जस्तो थने(माथिल्लो) र क्वने(तल्लो) टोलका बासिन्दाले ताजात्रा आजबाट नौ दिनसम्म चल्ने छ ।नातान गरी जात्रा सम्पन्न गरिन्छ ।
