
७ जेठ, लमजुङ। निर्माण अलपत्र परेको १५ महिनापछि लमजुङ दरबारको पुनर्निर्माण अघि बढेको छ।
लमजुङ बेँसीसहर नगरपालिका-३ गाउँ सहरस्थित समुद्री सतहबाट एक हजार ४४५ मिटर उचाइमा अवस्थित लमजुङ दरबारको पुनर्निर्माण एक हप्ताअघिदेखि पुनः अघि बढेको हो।
विसं २०८१ माघदेखि निर्माण ठप्प रहँदै आएकामा यतिबेला कामले पुनः गति लिन थालेको हो। पुरातत्व विभागका इन्जिनियर गोविन्द अधिकारीले बजेट अभाव, बोलपत्र आह्वानलगायत कारणले दरबारको काम ठप्प रहँदै आए पनि गत वैशाख २० गतेदेखि पुनर्निर्माण अघि बढेको बताए।
पुरातत्व विभागका इन्जिनियर अधिकारीका अनुसार रु ४२ लाखमा ठेक्का सम्झौता भएको हो। अहिले दरबारमा रहेका पुरानो र नयाँ काठ छुट्याउने, पर्खाल निर्माण गर्नेलगायत काम भइरहेको पुरातत्व विभागले जनाएको छ ।
सन्दर्भ तस्विर
