
१२ जेठ, काठमाडौं ।सभामुख डीपी अर्यालसंग नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले शिष्टाचार भेटवार्ता गरेका छन्।
भेटमा नेपाल–कोरिया सम्बन्ध,लगानी, प्रविधि, श्रम तथा संसदीय साझेदारीका विषयमा छलफल भएको सभामुखको सविचलायले जनाएको छ।
भेटमा सभामुख अर्यालले कोरियाले नेपालको विकास, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिन आग्रह गरे ।
सभामुख अर्यालले नेपाल प्रविधिको अधिकतम प्रयोगतर्फ अघि बढिरहेको उल्लेख गर्दै कोरियाली लगानीकर्तालाई नेपालको सूचना प्रविधि तथा प्राविधिक क्षेत्रमा लगानी गर्न आग्रह गरे ।
नेपाल–कोरिया सम्बन्ध सरकारस्तरमा मात्र नभई जनताबीचको सम्बन्धका रूपमा समेत विकसित भएको उनको भनाइ थियो ।
राजदूत पार्कले नेपाललाई कोरियाले विकास साझेदारका रूपमा प्राथमिकतामा राखेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, कृषि, आर्थिक विकास र रोजगारी क्षेत्रमा सहकार्य जारी रहेको बताए ।
उनले नेपाली कामदारले कोरियाको उत्पादनमूलक तथा कृषि क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै श्रमिकको स्वास्थ्य, सुरक्षा र सम्मानमा कोरिया सरकार संवेदनशील रहेको बताए ।
राजदूत पार्कले कोरियाली लगानी नेपालमा विस्तार हुँदै गएको उल्लेख गर्दै ऊर्जा क्षेत्रमा विशेष लगानी भइरहेको बताए ।
हरित ऊर्जा र कार्बन ट्रेडिङ क्षेत्रमा समेत कोरियाली व्यवसायी नेपालमा लगानी गर्न इच्छुक रहेको उनको भनाइ थियो ।
