प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गर्न रास्वपाको माग

३१ भदौं,काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गर्न माग गरेको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा रास्वपा प्रवक्ता जगदीश खरेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष’ राख्न माग गरेका हुन्।

सांसद खरेलले बाढी,पहिरो र कटानजस्ता घटनालाई दैवी प्रकोप भन्नु गलत भएको जिकिर गरे। ‘भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न नमिल्ने उनको भनाइ छ।

प्रवक्ता खरेलले भने, ‘यी घटनाहरू या त प्राविधिक कमजोरी, या त वातावरण विनाश, वा अव्यवस्थित विकास निर्माणका कारण हुने गरेका छन्। त्यसैले यस्ता घटनालाई दैवी प्रकोप नभई प्राकृतिक विपत्ति मान्नुपर्छ र सोहीअनुसार राज्यले राहत तथा व्यवस्थापनको तयारी गर्नुपर्छ।’

उनले यस्ता घटनाहरू प्राकृतिक विपत्ति वा मानव सिर्जित विपत्ति भएको जिकिर गरे।उनले यस्ता विपत्तिलाई दैवी प्रकोपको संज्ञा दिँदा जिम्मेवारीबाट पन्छिने खतरा रहेको औंल्याए।