जलवायु परिवर्तनको प्रभाव एवं विपद् अध्ययन विशेष समितिको सभापतिमा पराजुली

१५ असोज,काठमाडौं। जलवायु परिवर्तनको प्रभाव,जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा सांसद गणेश पराजुली चयन भएका छन्।

बुधबार सिंहदरबारमा सभामुख डोलप्रसाद अर्यालले उनलाई शपथ ग्रहण गराएका थिए। हिमालमा जलवायु परिवर्तनको असर तथा भोटेकोशी–त्रिशूली विपद्को अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना,दिगो पुनर्निर्माण,भविष्यको जोखिम न्यूनीकरण,कानुनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिस गर्न समिति गठन गरिएको हो।

शपथपछि विशेष समितिका सभापति पराजुलीले विपद् पूर्वतयारीका लागि पहिले भएका कामकारबाहीको समीक्षा गर्दै उद्धार,राहत तथा पुनर्स्थापनालाई प्रभावकारी बनाउने बताए ।

साथै विकासका पूर्वाधारहरूलाई जलवायु परिवर्तनसँग जुध्न सक्ने एवं सुरक्षित बनाउने विषयमा समितिले विस्तृत अध्ययन गर्ने उनको भनाई छ।

उनले विपद् जोखिम न्यूनीकरणका लागि उपयुक्त प्रतिवेदन तयार गरि जनतालाई न्यायको अनुभूति दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।