
१९ असोज,काठमाडौं ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डण्डपानी (डीपी) कंडेलले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
उनी नेपाली जनसम्पर्क समिति जापानका निवर्तमान सभापति तथा नेपाली कांग्रेसका महासमिति सदस्य हुन्।
कंडेलले प्रवासमा सिकेको ज्ञान, सीप र लगानीलाई नेपालसँग जोड्ने मुद्दालाई प्राथमिकतामा राखेका छन्।
कांग्रेस केन्द्रीय कार्यालयका अनुसार आज बिहान १० बजे केन्द्रीय समितिको बैठक बस्दैछ।केन्द्रीय समितिको बैठक सकिएलगत्तै बन्दसत्र सुरु हुनेछ।बन्दसत्र सम्पन्न भएसँगै निर्वाचन प्रक्रियाले गति लिनेछ।
निर्वाचन समितिका अनुसार आजै साँझ ५ बजे मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ। नामावली प्रकाशनसँगै दाबी विरोध र छानबिनको प्रक्रिया सुरु हुने बताइएको छ।
काठमाडौंको खुलामञ्चमा आइतबार उद्घाटन भएको १५औं महाधिवेशन विगतका महाधिवेशनभन्दा फरक देखिएको छ।
विशेषतः युवा पुस्ताको उल्लेख्य उपस्थितिले यसपटकको महाधिवेशनलाई कांग्रेसको नेतृत्व संरचनामा पुस्तान्तरणको फड्को मार्ने महाधिवेशनका रूपमा लिइएको छ।
