धार्मिक सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिन्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने बताउनु भएको छ।

२६२३औँ महावीर जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले महावीरले अहिंसा र संयमको उत्कृष्ट साधना र जनकल्याणका लागि गरिएको मार्गदर्शनको परिपालन गर्न आग्रहसमेत गर्नुभएको छ ।

राष्ट्रपति पौडेलद्वारा जारी शुभकामनामा भनिएको छ, “सबै नेपालीबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन महावीर जयन्तीबाट सबैलाई प्रेरणा मिल्ने विश्वास छ”।साथै उहाँले सम्पूर्ण नेपाली जैन धर्मावलम्बीहरूमा सुख,शान्ति र समृद्धिको कामनासमेत गर्नुभएके छ ।

हरेक वर्षको चैत्र शुक्ल त्रयोदशीका दिन नेपाललगायत विश्वभर छरिएर रहेका जैन धर्मावलम्बीद्वारा विभिन्न कार्यक्रमहरू आयोजना गरी महावीर जन्मजयन्ती मनाउने गरिन्छ ।

महावीरले आफ्ना अनुयायीहरूका लागि मोक्षका पाँच मार्ग अहिंसा, सत्य, अचौर्य, ब्रह्मचारी र अपरिग्रहका सिद्धान्तहरू परिपालन गर्नुभएको महावीरका अनुयायीहरुको दाबी छ ।