काठमाडौं। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहेको छ।
मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जनाएको छ ।आज कोशी,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहनुका साथै लुम्बिनी प्रदेश,मधेस प्रदेश र कोशी प्रदेशका केही स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको महाशाखाको भनाई छ।
उता आज राति पनि कोशी,गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशको बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने र गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी,मधेस र कोशी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले देशका अधिकांश भूभागहरूको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेकोले तातो हावाबाट बच्न आग्रह गरेको छ।
भोलि पनि कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ, भने लुम्बिनी,मधेस र कोशी प्रदेश केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको महाशाखाको भनाइ छ।
