
काठमाडौं । भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले घरजग्गा कारोबारमा खरिदकर्ताले पारदर्शी र यथार्थ विवरणको सुनिश्चितताका लागि व्यवस्थित र व्यवसायिक हुन जरुरी रहेको बताएका छन्।
आइतबार नेपाल घर जग्गा आवास विकास महासंघले ललितपुरमा आयोजना गरेको ‘रियल इस्टेट सम्मेलन’मा मन्त्री अधिकारीले घरजग्गा खरिदकर्ताले घरजग्गाको क्षेत्रफल,स्वामित्वको अवस्था,सम्भावित कानूनी अड्चन र मूल्यका बारेमा पारदर्शी र यथार्थ विवरण प्राप्त गरि घरजग्गा कारोबार व्यवस्थित र व्यवसायिक बनाउनु पर्ने आवश्यक्ता औंल्याए।
मन्त्री अधिकारीले घरजग्गा कारोबारलाई पारदर्शि बनाउने विषय चुनौतिको रुपमा देखापरेको हुँदा घर जग्गा व्यवसायीहरूले व्यवसायिक मर्यादामा रही प्रचलित कानूनको पालना गरेर व्यवसाय गर्ने वातावरण भएमात्रै यो व्यवसाय सबल हुने बताए ।कानून बमोजिम व्यवसाय दर्ता वा इजाजत नलिई कारोबार गर्ने परिपाटीले राज्यले अर्बौंको राजस्व गुमाउनु परेको भन्दै उनले कारोबार व्यवस्थित नहुँदा लगानीकर्ता र घरजग्गा खरिदकर्ताको कानूनी अधिकारको संरक्षणसमेत कठिन भएको बताए।
घरजग्गा कारोबार शिथिल भयो भने राष्ट्रिय अर्थतन्त्रमा ठूलो असर पर्ने र कित्ताकाँटमा देखिएको समस्या समाधान गर्न भू–उपयोग नियमावली २०७९ र भूमिसम्बन्धी ऐनमा संशोधन गरीएको उनको भनाई छ ।कारोबारलाई पारदर्शी र व्यवस्थित बनाउन मालपोत ऐन २०३४ लाई संशोधन गरी कारोबार गर्न लाइसेन्स लिनुपर्ने व्यवस्था समेत गरिएको जानकारी गराउँदै उनले भने,‘घरजग्गा कारोबारलाई पारदर्शी कारोबार गर्ने विषय प्रमुख चुनौती देखा परेको छ।
कानून बमोजिम व्यवसाय दर्ता वा इजाजत नलिई कारोबार गर्ने परिपाटीले त्यस्तो कारोबार करको दायरामा आउन नसक्दा राज्यले राजस्व गुमाएको अवस्था छ भने लगानीकर्ता र घरजग्गा खरिदकर्ताको कानुनी संरक्षणसमेत कठिन हुने अवस्था छ।कित्ताकाँटमा देखिएको समस्या समाधान गर्न भूउपयोग नियमावली २०७९ संशोधन गरी सहजीकरण गरेको छ।’
कार्यक्रममा नेपाल घरजग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले घरजग्गाको कारोबारलाई व्यवस्थित,पारदर्शी र व्यवसायिक बनाउन ल्याण्ड मार्केट अवधारणाको विकास गर्न आवश्यक रहेको बताए। उनले टुक्रे योजनाहरूले नेपालमा व्यवस्थित शहरीकरण बन्न नसक्ने जिकिर गर्दै व्यवस्थित शहरीकरण बनाउन निजी क्षेत्रलाई ल्याण्ड पुलिङ खोल्न आवश्यक रहेको बताए ।
सम्मेलनमा पछिल्लो समय घरजग्गा कारोबारमा आएको समस्याको कारणले मुलुकको अर्थतन्त्रमा समस्या आएको र घरजग्गा कारोबारमा देखिएका समस्याको कारण व्यवसायीमात्र नभएर बैंकहरूले पनि आर्थिक मार खेप्नु पर्ने अवश्था आउन सक्ने भन्दै यसलाई व्यवस्थित गर्नुपर्ने कुरामा उनले जोड दिए ।
