व्यासमा स्थानीय तह निर्वाचनको पुनः मतगणना गराउन अदालतको आदेश

पोखरा । तनहुँको व्यास नगरपालिकामा स्थानीय तह निर्वाचनको पुनः मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । निर्वाचन सकिएको दुई वर्षपछि पुनः मतगणना गराउन अदालतले आदेश दिएको हो ।

मंगलबार निर्वाचनमा पराजित भएका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीको पक्षमा अदालतले आदेश दिएको थियो । नेकपा एमालेको समर्थनमा उम्मेदवार भएका जोशी २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पराजित भएका थिए ।

उनी कांग्रेसका पूर्व सहमहामन्त्री तथा सरकारका पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा हुुन् । उनलाई हराउँदै नेपाली कांग्रेसका नेता वैकुण्ठ न्यौपाने व्यास नगरपालिकाको मेयरमा दोस्रो पटक विजयी भएका थिए । निर्वाचनमा धाँदली भएको भन्दै जोशीले उच्चमा मुद्दा हालेका थिए ।