जापानका मेयर बुढानीलकण्ठमा,दुई नगरपालिकाका कार्ययोजना र अनुभव आदानप्रदान

सीता पौडेल(अर्चना)

काठमाडौं ।जापानको ओईजुमी नगरपालिकाका नगर प्रमुख मुरायामा र बूढानीलकण्ठ नगरपालिका(बूनपा)का प्रमुख मिठाराम अधिकारीबीच भेटवार्ता भएको छ ।

जेठ १ गते (हिजो) मंगलबार जपानका नगर प्रमुख (मेयर) तोसिआकीसहित उनका स्वकिय सचिव ताकोई सिहायुकी,त्यहाँको बहुसाँस्कृतिक विभागका प्रबन्धक फुकुदा मासामी सान र सोही विभागका सान खुनिको हासेगावा,नेपाल साझा समाजका अध्यक्ष वुद्धि सेरचन,सल्लाहकार रन्जय अमात्य,महासचिव निरज गुरुङ र पूर्व महासचिव गोपाल पोखरेल गरि थप ४ जना इन्टरप्रेनर सहितको टोलीलाई स्वागत गरिएको हो।

सो टोलीलाईलाई बुढानीलकण्ठ नगरका नगर प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामासहित मेयरका स्वकीय सचिव रविन्द्र अधिकारी,प्रमुख प्रशासकीय अधिकृत तुलसीराम अर्याललगायतले स्वागत गरेका थिए ।स्वागतपश्चात नगरपालिकाको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरि दुई नगरपालिकाबीचका कार्यगत असल अभ्यास तथा कार्य अनुभवहरु आदान–प्रदान सहितको अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको मेयरका स्वकीय सचिव रविन्द्र अधिकारीले जानकारी दिए।

कार्यक्रममा बूनपकी उप–मेयर अनिता लामाले नगरको भौगोलिक बनावट तथा साँस्कृतिक विविधताबारे जानकारी गराउँदै नगरपालिकाले गरेका असल अभ्यासहरु,लगानीका अवसर र सम्भावनाका क्षेत्रहरु लगायत चुनौतीको विषयमा स्पष्ट  पारेकी थिइन् । उनले नगरको प्रकृतिक सौन्दर्यता र उपयुक्त वातावरणका कारण ७७ वटै जिल्लाबाट मानिसहरु बसाइँ सरेर आउने गरेका कारण जनसंख्याको चाप बढेको हुँदा नगरको व्यवस्थापनमा चुनौति थपिएको बताइन।

साथै उप–मेयर लामालेले आफूहरु निर्वाचित भएको दई वर्षको अवधिमा नगरपालिकाको सबै क्षेत्रमा थप विकास गर्ने योजना र रणनीतिका साथ काम गर्दै आएको भन्दै  नगरपालिकालाई देशभरका ७ सय ५३ वटै नगरपालिका मध्येको सबै किसिमले उपयुक्त र नमुना नगरपालिका बनाउने चाहना अनुरुपका योजना र रणनीति बनाएर कार्य सम्पादन भइरहेको  स्पष्ट पारिन ।साथै उनले  निर्वाचित हुँदाका प्रतिबद्धता पुरा गर्न थप प्रभावकारी तवरबाट काम गर्ने योजना सुनाइन ।

कार्यक्रममा प्रशासकीय अधिकृत तुल्सीराम अर्यालले प्रसिद्ध धार्मिक स्थल बूढानीलकण्ठको नामबाट नगरपलिकाको नामाकरण गरिएको जानकारी गराउँदै करिब दुइलाख भन्दा बढी जनसंख्या रहेको यस पालिकामा प्रकृतिक,साँस्कृतिक,भौगोलिक, ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरुसमेत रहेको स्पष्ट पारे ।

उनले नगरपालिकाले गरेका असल अभ्यासहरु बारे प्रकाश पार्दै न्यायिक समितिका कामहरु,श्रमिक सुचीकरण,रोजगारीका अवसर,स्वास्थ्य बीमा, सामुदायिक विद्यालयका कक्षा १० सम्मका विद्यार्थीहरुलाई निःशूल्क दिवा खाजा,र विभिन्न साँसकृतिक तथा खेलकुद महोत्सव जस्ता नगरले संचालन गरिरहेका विकासका असल अभ्यासहरुबारे जानकारी गराएका थिए।

कार्यक्रममा मेयर मुरायामा तोसिआकीले बुढानीलकण्ठ नगरपालिकाको आत्मिय स्वागत र सत्कारको खुलेर प्रसंसा गरे ।उनले यहाँका मानिसहरुको व्यवहार र आचरणको प्रसंसा गर्दै सहको फोहोरमैला व्यवस्थापनमा हरेक व्यक्ति आफैं जिम्मेवार बन्नु पर्ने आवश्यक्ता औंल्याए ।

मेयर तोसिआकीले फोहोर व्यवस्थापन हरेक शहरका लागि जटिल कार्य रहेको भन्दै यसका लागि त्यहाँका छिमेकी नगरपालिका र यससँग सम्बन्धित अन्य संघसंस्थासँगको हातेमालो पनि जरुरी भएको बताए ।

उनले बूनपाको विकास र समृद्धिका लागि यस प्रकारका कार्यको सहयोगको खाँचो परेमा र विपद व्यवस्थापन लगायतका विषयमा प्राविधिक तालिमहरुको आवश्यक्तासँगै आफ्नो नगरको अध्ययन तथा अनुसन्धान गर्न इच्छुक बूनपा बासीलाई जपानमा स्वागत गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।त्यसका लागि उनले आवश्यक सहयोगसँगै सहकार्य गर्न तयार रहेको बताए।

सोहि क्रममा मेयर तोसिआकीले बुढानीलकण्ठका जनप्रतिनिधि र सम्बन्धीत प्रशासनीक कर्मचारीहरुलाई आफ्नो नगरपालिकाको अवलोकन भ्रमणका लागि निमन्त्रणा समेत दिएका छन् ।कार्यक्रममा उनले केही ठट्यौली पनि गरे। 

 केही ठट्यौली पाराले हाँस्दै उनले भने,‘यदि म अर्काे चुनावमा हारें भने नेपालमा आएर मेयर उठ्छु ,नेपाली श्रीमती विहे गर्छु र नेपालीको सेवामा समर्पित हुन्छु। साथी भएपछि यस्तो हाँसि मजाक पनि त गर्न पाइन्छ नि! (गलल्ल सबैको हाँसो गुञ्जियो)।’

कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारीले आफ्नो जापान भ्रमण निकै उपलब्धीपूर्ण रहेको भन्दै
दुई नगरपालिकाबीच भगीनी सम्बन्ध कायम गरेर एकअर्काबीचमा सहयोग र सहकार्यको वातावरण सिर्जना गर्न आफू उत्सुक रहेको बताए ।साथै उनले दुई नगरबीचको सम्बन्ध सधैं सुमधुर बनाइराख्ने प्रतिबद्धतासमेत जाहेर गरे ।

मेयर मुरायामा तोसिआकीको टोलीले हिजै प्रसिद्ध धार्मिक स्थल बूढानीलकण्ठ मन्दिरको दर्शन तथा अवलोकन गरेको छ।भने,नागी(घ्याङ गुम्बाको पनि दर्शन र बूनपा,६मा रहेको फोहोर संकलन केन्द्रको अवलोकन गरेको छ ।

भने,आज  बिहान मेरियन्ट होटलबाट १०ः३० बजे बूनपा नगरपालिकाको नगराकार्यपालिकाको कार्यालयमा पुगेर कपन,११ मा अवस्थित ग्राम शिक्षा केन्द्र लगायतका केही ठाउँहरुको अवलोकन गर्ने र बेलुका बूनपाद्धारा आयोजित रात्रीभोजमा सहभागी भएर स्वदेश फर्किने कार्यतालिका रहेको मेयर अधिकारीका स्वकीय सचिव रविन्द्र अधिकारीले जानकारी दिएका छन्।

कार्यक्रममा अन्य जनप्रतिनिधीहरु,नगरपालिकाका कर्मचारीहरु र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

बुढानीलकण्ठ नगरपालिकाको निमन्त्रणामा दुई नगरपालिकाबीच भगिनी सम्बन्ध विस्तार गर्ने उद्देश्यले नेपाल साझा समाज जापानको समन्वयमा मेयर तोसिआकी सहितको टोली उक्त नगरपालिका भ्रमणको लागि आएको हो ।