विरेन्द्रनगर दुर्घटना अपडेटः मृतक दुवै जनाको सनाखत

काठमाडौँ । सुर्खेतको विरेन्द्रनगरमा भएको मिनिबस दुर्घटनामा मृत्यु भएका दुई जनाको सनाखत भएको छ ।

सुर्खेतको वीरेन्द्रनगरस्थित कपासे नजिकै भएको बस दुर्घटनामा दैलेखको डुंगेश्वर गाउँपालिका–६ का २२ वर्षीय भिमसेन राना र बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का अन्दाजी ७० वर्षीय शेरबहादुर खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ।

सोमबार दिउँसो साढे १ बजे दैलेखको दुल्लु नगरपालिका–११ भुकाहाँबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको मिनीबस सुर्खेत–दैलेख सडक खण्डको कपासे नजिकै घुम्तीमा दुर्घटना भएको थियो ।

दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा २१ जना घाइते भएका छन्। जसमा एक जनाको अवस्था चिन्ताजनक छ ।