दुई दिनका लागि बन्द हुँदै धुलिखेल–खावा सडक

काभ्रे । अरनिको राजमार्गअन्तर्गत खावा–धुलिखेल सडक दुुई दिनका लागि बन्द हुने भएको छ ।

मंगलबार र बुधबार (आज र भोलि) दिउँसो ११ बजेदेखि ३ बजेसम्म चार घन्टाका लागि पूर्ण रुपमा बन्द रहने जिल्ला प्रशासन कार्यालय धुलिखेलले जनाएको छ ।

‘जिल्ला समन्वय समिति, काभ्रेपलाञ्चोकमा बसेको सम्पूर्ण सरोकारवालासँगको बैठकको निर्णयानुसार सडक डिभिजन भक्तपुरअन्तर्गत निर्माणाधीन अरनिको राजमार्ग (धुलिखेल–खावा ४ किमि सडक खण्ड) मा निर्माण कार्य गर्न जेठ ८ र ९ गते सबै किसिमका यातायात (दमकल, एम्बुलेन्स, शववाहन र सुरक्षा निकायका सवारी साधन बाहेक) सञ्चालन पूर्ण रूपमा बन्द रहने निर्णय गरेको हो ।

सो अवधिमा वैकल्पिक बाटोको प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

काठमाडौं बनेपा हुँदै पाँचखालतर्फ जाने साना सवारीसाधनहरू होराइजन होटल–आगन्तुक होटल (गोसाइस्थान मार्ग)– रविओपी हुँदै पाँचखाल पुग्न सक्नेछन्।

त्यस्तै साना सवारी साधनहरू बनेपा–चारदोबाटो– रविओपी हुँदै पाँचखाल पुग्न सक्नेछन्।

बिपी राजमार्ग– तिनपिप्ले– पाँचखाल पुग्ने पनि वैकल्पिक बाटो रहेको छ। सो सडक खण्डमा साना सवारी चलाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।

साना सवारी साधनहरूले नगरकोट–कुन्तावेसी– जिरोकिलो सडक पनि प्रयोग गर्न सक्नेछन्।