शिक्षामन्त्रीको कुल सम्पत्ति डेढ करोडभन्दा बढी

काठमाडौँ । शिक्षामन्त्री सुमना श्रेष्ठले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् । सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार उनको नाममा काभ्रे जिल्लाको रियालेमा ९ लाख ९४ हजारमा हजारमा खरिद गरेको उल्लेख गरेकी छन् ।

परिश्रमिकबाट खरिद गरिएको उक्त जग्गाको स्वामित्व संयुक्त नाममा रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ । उनको व्यक्तिगत नाममा कुनै घर भने छैन ।

आफ्नो नाममा एनआईसी एसिया बैंक र एभरेस्ट बैंकमा १ करोड ५२ लाख रकम मौज्दात रहेको जनाएकी छन् । दुवै स्रोत उनले पारिश्रमिक रहेको जिकिर गरेकी छन् ।

यता उनीसँग बिहे र हजुरआमाको शेषपछि प्राप्त ११ तोला सुन, बिहेका बेला उपहार पाएको १०० तोला चाँदी र १–१ सेट हिराको हार र हिराको टप रहेको उल्लेख गरेकी छन् ।

उनले नबिल बैंकसहित विभिन्न कम्पनीको सेयर रहेको पनि खुलाएकी छन् । सवारी साधनका रूपमा एउटा स्कुटर र २० लाख रुपैयाँमा खरिद गरेको ईभी गाडी रहेको उनले विवरणमा उल्लेख गरेकी छन् ।