
काठमाडौं । नेपाली चलचित्रका क्षेत्रमा शुक्रबार नै रिलिज गर्नुपर्ने परम्परा रहँदै आएको थियो । तर यो साता भने बिहीबारबाट नै प्रदर्शन सुरु भएको छ ।
बुद्ध जयन्तीको अवसरमा आज दुई नेपाली चलचित्रहरु हलमा रिलिज भएका छन् । आजबाट चलचित्र ‘पुजार सार्की’ र ‘फर्की फर्की’ प्रदर्शन हुन लागेका हुन् । केही दिन अघिबाट अग्रिम टिकट बुकिङ सुरु गरेका दुई चलचित्रहरुले बराबरी रुपमा शोहरु पाएका छन् ।
रोहित अधिकारी फिल्म्सको प्रस्तुती रहेको चलचित्र ‘फर्की फर्की’ मा अनमोल केशी, जसिता गुरुङ, समृद्धि अर्याल, रवी काफ्ने लगायतको मुख्य भूमिका छ । यो चलचित्रलाई सुयोग गुरुङले लेखन तथा निर्देशन गरेका छन् ।
यसैगरी चलचित्र ‘पुजार सार्की’मा आर्यन सिक्देल, प्रदीप खड्का, पल शाह, परीक्षा लिम्बू, अन्जना बराईली लगायतको प्रमुख भूमिका छ । यो चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् भने सुवास भुसाल निर्माताका रुपमा छन् । यस्तै चलचित्रको कथा विकास सुवेदीले लेखेका छन् ।
