
बागलुङ । डढेलोका कारण दुई महिनामा बागलुङमा दुई हजार हेक्टरभन्दा बढी वनमा क्षति पुगेको छ । डिभिजन वन कार्यालय बागलुङका अनुसार फागुन ११ गतेदेखि बैशाख १९ गतेसम्ममा ६८ वटा सामुदायिक वनको दुई हजार एक सय ७४ हेक्टर क्षेत्रफलमा क्षति पुगेको हो ।
राष्ट्रिय तथा सामुदायिक वनमा आगलागीका कारण ठूलो क्षति भएको कार्यालयले जनाएको छ । डढेलोले अप्रत्यक्ष रूपमा वन्यजन्तु र पर्यावरणमा ठूलो क्षति पुगेको
छ ।
तमानखोला गाउँपालिका–२ स्थित रानीवन सामुदायिक वनमा वैशाख १३ गते लागेको डढेलोबाट एकजनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । बागलुङ नगरपालिका–१२ अमलाचौर हिलेजुके सामुदायिक वनमा वैशाखको १९ गतेको डढेलोबाट एक घर, तीन गोठ जलेको थियो । जसबाट दुई भैँसी, तीन गाई, पाँच बाख्रा मरेका थिए । ताराखोला गाउँपालिका–१ स्थित राष्ट्रिय वनमा लागेको डढेलोबाट तीन घर, पाँच गोठ, छ बाख्रा, दुई भैँसी, एक राँगा मरेका थिए ।
