सम्झनामा कृष्ण सेन ‘इच्छुक’ : २२ औं स्मृति दिवसका अवसरमा प्रभातफेरी

सीता पौडेल(अर्चना)

काठमाडौं ।पत्रकार तथा सांस्कृतिकर्मी सहिद कृष्ण सेन इच्छुकको २२ औं स्मृति दिवसका अवसरमा काठमाडौंमा प्रभातफेरी गरिएको छ ।

१० बर्षे जनयुद्धका क्रममा पुलिस कष्टडीमा यातनाका कारण मारिएका कृष्ण सेन इच्छुकको सहादत भएको दिनलाई स्मृति दिवसका रुपमा मनाइँदै आएको प्रेस सेन्टरका पूर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाका अध्यक्ष सूर्य सुवेदीले बताए ।

अध्यक्ष सुवेदीले भने, ‘तत्कालिन सांस्कृतिक सङ्गठनका केन्द्रीय अध्यक्षसमेत रहेका सेन जनादेशका सम्पादक र जनदिशा दैनिकका प्रधान सम्पादक भएर जनपक्षीय पत्रकारिता गर्दै आउनु भएको थियो ।सोही क्रममा उहाँलाई पुलिसले गिरफ्तार गरी एक हप्तासम्म चरम यातना दिएर हत्या गरेको थियो ।’

  ‘उहाँलाई २०५२ सालबाट शुरु भएको १० वर्षे जनयुद्धको समयमा २०५८ जेठ ६ गते  काठमाडौंको मध्यबानेश्वरस्थित ह्वाइट हाउस स्कूलबाट गिरफ्तार गरी महेन्द्र पुलिस क्लबमा लगेर सो यातना दिएर हत्या गरेको थियो।’ ‘उहाँको सहादत भएको दिनलाई स्मृति दिवसका रुपमा मनाउनका लागि प्रभातफेरी निकालिएको हो ।’ उनले भने ।

आफूलाई क्रान्तिकारी पत्रकारीताका सम्वाहका रुपमा मान्दै आएका पत्रकारहरु तथा नेकपा माओवादी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालले जेठ १३ गतेलाई आफ्ना अग्रज पत्रकार कृष्ण सेन इच्छुकको स्मृति दिवसका रुपमा मनाउँदै आएको छ ।

 अग्रज पत्रकार इच्छुकलाई सम्झदै  उनले अगाडि भने, ‘तत्कालिन सांस्कृतिक सङ्गठनका केन्द्रीय अध्यक्षसमेत रहेका सेन जनादेशका सम्पादक र जनदिशा दैनिकका प्रधान सम्पादक भएर जनपक्षीय पत्रकारिता गर्दै आउनु भएको थियो। ’‘जोखिमपूर्ण संघर्षको समयमा पनि उहाँले उत्पीडित वर्ग,समुदाय र परिवर्तनको पक्षमा कलम चलाउने गर्नुहुन्थ्यो भने,आफ्नो आदर्श जस्तै सादा जीवन जिउने गर्नुहुन्थ्यो ।’ 

अध्यक्ष सुवेदीका अनुसार उनको सम्झनामा आज प्रेस संगठन नेपालले प्रभातफेरीसँगै सम्मान तथा पुरस्कार कार्यक्रमको आयोजना गरेको छ।आजको प्रभातफेरी सेन्टरको बबरमहलस्थित केद्रिय कार्यालयबाट माइतीघर मण्डला पुगेर पुनःकार्यलयमा आएर एक कार्यक्रमको आयोजना गरि समापन गर्ने तयारी रहको छ।

 जनवादी आस्थाका केन्द्र बन्न पुगेका सेन नेपाल पत्रकार महासङ्घका केन्द्रीय पार्षदसमेत रहेका थिए।‘इच्छुक’ उनको साहित्यिक नाम हो ।उनका ‘शोकाञ्जली’, ‘बन्दी र चन्द्रागिरी’ तथा ‘इतिहासको यस घडीमा’ गरी तीनवटा काव्यकृति प्रकाशित छन्।

 ईच्छुकको वि.सं. २०१३ मा भारतको देहरादुनमा जन्म भएको थियो भने उनको पुख्यौंली घर अर्घाखाँचीको जलुकेमा हो ।