
काठमाडौं । देशभरका १४ लाखभन्दा बढी बालकालिकालाई पोलियोविरुद्ध ‘आइपिभी’ लगाइने भएको छ । आइपिभी खोप अभियानअन्तर्गत देशभरका कुल १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई खोप लगाइने भएको हो ।
केन्द्रीय खोप अभियानका अनुसार यही जेठ २६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा २०७३ देखि २०७५ सालसम्म नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई सो खोप लगाइने छ । विसं २०७१ सालदेखि नेपालमा खोप लगाउन सुरु गरिएपनि २०७३ देखि २०७५ सालसम्म विश्वभर आइपिभी खोपको अभावका कारण देशभरका बालबालिका खोपबाट वञ्चित भएका थिए ।
नियमित खोप सञ्चालनका क्रममा बालबालिकालाई जन्मिएको दिनदेखि १५ महिनाभित्र सातपटक १३ वटा रोगबाट बच्ने खोप लगाउनुपर्ने व्यवस्था गरिएको तथा त्यस अवधिमा छुटेका बालबालिकालाई १६ देखि २३ महिनाभित्र खोप लगाउने व्यवस्था गरिएको अभियानले बताएको छ ।
जिल्ला खोप समन्वय समितिले जिल्लाका नौमध्ये चार स्थानीय तहमा आजदेखि जेठ १८ गतेसम्म, जेठ २० देखि २५ गतेसम्म पाँच स्थानीय तहमा अभियान सञ्चालन हुने जनाइएको छ ।
अभियानका लागि जिल्लाभरमा तीन सय ९८ वटा केन्द्र निर्धारण गरिएको छ । अभियानमा एक सय २१ जना स्वास्थ्यकर्मी र सात सय ९६ जना स्वयंसेवक परिचालन गरिएको छ ।
