काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टीं (एमाले) जनसंगठन समन्वय संयन्त्रले यही जेठ १६ र १७ गते राष्ट्रिय महिला भेलाको आयोजना गर्ने भएको छ।
२०६३ साल जेठ १६ गते नेकपा एमालेका तत्कालीन उपाध्यक्ष विद्यादेवी भण्डारीको नेतृत्वमा तत्कालीन पुनस्र्थापित प्रतिनिधि सभाले आमाको नामबाट नागरिकता,राज्यका सबै तहमा एकतिहाई महिला सहभागिताको सुनिश्चितता,विभेदकारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई संसदको संकल्प प्रस्तावको रुपमा पेश गरेको र नेपालको संविधान २०७२ मा महिला अधिकारका विषयहरुलाई मौलिक हकमै उल्लेख गर्ने आधार प्रदान गरेको थियो ।
सोही अनुरुप नेपाल सरकारले जेठ १६ लाई राष्ट्रिय महिला अधिकार दिवसका रुपमा घोषणा गरी मनाउँदै आएकाले एमालेले ऐतिहासिक दिनका रुपमा भेलाको आयोजना गर्न लागेको आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ।
भेलामा महिला आन्दोलनको इतिहासको सम्झना गर्दै अहिलेसम्मका उपलब्धिहरुको विषद् चर्चा गरिने नेकपा एमालेका केन्द्रिय सदस्य रचना खड्काले जानकारी दिइन्।उनका अनुसार भेलामा हालका चुनौती र अबको महिला आन्दोलनका एजेण्डाहरुलाई सूत्रबद्ध गर्दै आगामी कार्यभार तय गरिने छ ।
जेठ १६ गते दिउँसो १ बजे उद्घाटन हुने कार्यक्रममा पाँच हजार महिलाको सहभागिता हुने जनाइएको छ।यस्तै १७ गतेको भेला कार्की बैंक्वेट बबरमहलमा सम्पन्न हुने छ।भेलामा पार्टीका केन्द्रीय सदस्यहरु,एमाले आबद्ध २३ वटै जनसंगठनका महिला नेताहरु,पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधिहरु,पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारीहरु, अनेरास्वयुको तर्फबाट निर्वाचित महिलाहरु प्रतिनिधिको रुपमा उपस्थित हुने छन्।
सो पत्रकार सम्मेलनमा भेलाको व्यवस्थापनका लागि १५० महिला स्वयंसेवक परिचालन गरी कमिटी निर्माण गरिएको तथा उनीहरुको प्रशिक्षण कार्यक्रम सम्पन्न भइसकेको जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले जानकारी दिए।
भेलाको दोस्रो दिनको कार्यक्रममा १२ वटा समूहमा कार्यक्रमको उद्देश्यमा आधिरित रहेर महत्वपूर्ण विषयमा छलफल सम्पन्न भएपछि निष्कर्ष सार्वजनिक गर्ने कार्यक्रम रहेको संयोजक ढकालले बताए।
भेलाको उद्घाटन निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् भने समापन महासचिव शंकर पोखरेलले गर्नेछन् ।
