काठमाडौं । महालेखा परीक्षकको कार्यालयले बन्चरेडाँडा ल्याण्डफिल्डका पाँच कमजोरी औंल्याएको छ । महालेखा परीक्षकको ६१ औं प्रतिवेदनले बञ्चरेडाँडा ल्यान्डफिल साइटमा काठमाडौं महानगरले गरेका पाँच कमजोरी औंल्याएको हो।
धादिङको धुनिबेँसी नगरपालिका वडा नम्बर १ मा पर्ने बञ्चरेडाँडा ल्यान्डफिल साइटमा काठमाडौं महानगरपालिकासहित उपत्यका आसपासका २१ वटा स्थानीय तहले फोहोर विसर्जन गर्दै आएका छन्। भक्तपुर नगरपालिका मात्रैको फोहोर त्यहाँ बञ्चरेडाँडा जाँदैन।
बञ्चरेडाँडा ल्यान्डफिल साइट व्यवस्थापनको जिम्मा काठमाडौं महानगरपालिकाले लिँदै आएको छ । बञ्चरेडाँडा ल्यान्डफिल साइट सञ्चालनको कार्यविधि पनि बनेको छ।
तर कार्यविधि अनुसार काम नभएको महालेखाले औंल्याएको हो। कार्यविधिमा फोहोर तौल गर्ने स्थानमा फोहोरसँग जोखिमयुक्त रेडियोधर्मी फोहोरहरू रहे–नरहेको जाँच गर्ने, विसर्जनको लागि ल्याइएको फोहोरको तौल लिई अभिलेख राख्ने, फोहोरलाई तोकिएको निश्चित क्षेत्रमा मात्र खन्याउने व्यवस्था नरहेको महालेखाले बताएको छ।
त्यस्तै बञ्चरेडाँडामा हाल फोहोर कम्प्याक्सन (फोहोर थिचेर बाकसजस्तो बनाउने) नगरेको र फोहोर कम्प्याक्सनका लागि मेसिनरी उपकरणसमेत साइटमा नरहेको महालेखाले जनाएको छ।
