काठमाडौं । प्रेस चौतारीले पनि नेपाल पत्रकार महासंघमा तालाबन्दी गरेको छ । सक्रिय पत्रकारहरु नै सदस्यता लिनबाट बन्चित भएपछि चौतारीले महासंघको कार्यालयमा तालाबन्दी गरेको हो ।
‘प्रेस चौतारी नेपाल अन्ततः नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गर्न बाध्य भएको छ । अग्रजहरुको बलिदान, कष्टसाध्य संघर्ष, असाधारण त्याग र श्रमजीवी पत्रकारहरुको योगदानको जगमा पत्रकार महासंघ नेपालको अगुवा नागरिक संगठन रुपमा स्थापित छ । निर्धारित मितिमै पत्रकार महासंघको चुनाव होस् भन्ने पवित्र भावनाका साथ हामीले पत्रकार महासंघको वर्तमान नेतृत्वलाई सहजीकरण र सहयोग गर्दै आएका थियौं ।’, प्रेस चौतारीका केन्द्रिय उपाध्यक्ष गणेश पाण्डेले आज फेसबुकमा फोटो शेयर गर्दै भनेका छन् ।
उनले भनेका छन्, ‘निर्धारित मितिमै पत्रकार महासंघको चुनाव होस् भन्ने पवित्र भावनाका साथ हामीले पत्रकार महासंघको वर्तमान नेतृत्वलाई सहजीकरण र सहयोग गर्दै आएका थियौं । सोहीकारण हामीले निकै संयमता पनि अपनायौं । तर, सक्रिय पत्रकारहरूलाई नै सदस्यताबाट वञ्चित हुने अबस्था वर्तमान नेतृत्वले गरेपछि हामी मुकदर्शक बन्न सकेनौं। नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण होस् भन्ने हाम्रो पवित्र भावनामाथि पत्रकार महासंघको वर्तमान नेतृत्वले कुठाराघात गरेको छ ।’
उनले पत्रकारिता गर्ने बाहेकको मात्र सदस्यता नवीकरण गर्ने र दोहोरो मापदण्ड अपनाउने हर्कत अमान्य हुने स्पष्ट पारेका छन् । उनले प्रश्न गरेका छन्, ‘नेपाल पत्रकार महासंघका नेतृत्वकर्तालाई हामी सोध्न चाहन्छौं-पत्रकारिताबाटै बाँचेकाहरूको नाम काट्न तपाईंहरूको हात किन काँपेनन् ? नेपाल पत्रकार महासंघको गौरवमय इतिहासलाई धुलिसात बनाउने अधिकार तपाईंहरूलाई कसले दिएको छ?’
