काठमाडौं । काठमाडौं महानगरपालिकाले टिचिङ अस्पतालभित्र सञ्चालित मापदण्ड विपरीतका औषधि पसल बन्द गरेको छ ।
टिचिङ अस्पतालभित्रको औषधि पसलमा म्याद नाघेको औषधि पसल सञ्चालन गरेको भन्ने गुनासो परेपछि महानगरले बुधबार त्यसको अनुगमन गरेको थियो ।
एक बिरामी बच्चालाई म्याद नाघेको औषधि बेचेको, फार्मेसी सञ्चालन गर्नुपर्ने न्यूनतम मापदण्ड पालना पनि नगरेको पाइएपछि टिचिङको कम्पाउन्डमा रहेको पानोर्मा र पञ्जजन्य गरी २ वटा फार्मेसीमा ताला लगाइएको महानगरकी निमित्त स्वास्थ्य विभाग प्रमुख सजिना महर्जनले बताइन् ।
महर्जनका अनुसार फार्मेसीमा रहेको भ्याक्सिनलाई राख्नुपर्ने तापक्रमको मापदण्डमा नराखेको, अनुमतिबिनै नार्कोटिक्स ड्रग्सजन्य औषधी बेचिएको समेत पाइएको छ ।
महर्जनका अनुसार ताला लगाएका फार्मेसीहरुलाई महानगरले कानुन बमोजिम कारबाही र जरिवाना गरेर मात्रै टिचिङको कम्पाउन्ड बाहिर चलाउन दिनेछ ।
